१८ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

‘दशैं अन्तर्राष्ट्रिय स्तरमा फैलिंदै गएको छ’:डा.गोविन्द टन्डन, संस्कृतिविद्

डा. गोविन्द टन्डन संस्कृतविद हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालिसकेका उनी शाकाहार प्रवद्र्धक पनि हुन । नेपालमा मनाइने चाडपर्वबारे राम्रो जानकारी राख्ने टंडनसँग कुराकानी गरेका छौं ।

दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ? यसलाई किन महान वा बडा चाड भनिएको हो ?
असोजमा मनाइने दशैंलाई हामी बडादशैं भन्छौं । विशेषगरी वर्षमा दुईवटा दशैं हुन्छन् । एउटा चैते दशैं, अर्को बडादशैं । असोजमा मनाइने दशैं शरद ऋतुमा पर्ने भएकाले बडा दशैं भन्छौं । यसका धार्मिक र सांस्कृतिक धेरै नै महत्वहरु छन् । किनभने लामो समयदेखि चलेर आएको पर्व हो यो । पर्व भन्नासाथ पारिवारिक मिलनका रुपमा पनि बुझ्न सकिन्छ । समाज–समाज, व्यक्ति–व्यक्ति र परिवार–परिवारमा जोडिने भएकाले पनि यसलाई बडादशैं भनिएको हो । सामाजिकीकरणका लागि पनि यसको आफ्नै महत्व छ । धार्मिक र सांस्कृतिक महत्व त हुने नै भयो सामाजिक महत्व पनि अत्यन्त धेरै छ ।
नेपालको सन्दर्भमा धेरै चाडवाडहरुमध्ये बडादशैं, विजया दशमी अथवा दशैंलाई अत्याधिक महत्वको रुपमा नेपालीहरुले मनाउने गरेको पाइन्छ । यद्दपी, केही समूहले हिन्दुहरुको होइन भनेर दशैं नमनाएको पनि पाइन्छ । स्वाभाविक पनि लाग्छ यसले केही हदसम्म दशैंको सन्दर्भमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्न मद्दत गरेको पाइन्छ । तर, त्यस्तो समूह धेरै ठुलो चाँही छैन । समग्रमा भन्नुपर्दा विजया दशमी नेपालीहरुको एउटा महान चाडको रुपमा लिनुपर्दछ । अहिले त नेपालीहरु विश्वका विभिन्न कुनामा बसेका छन् । आजभन्दा १५–२० वर्षभन्दा अगाडि यसको जति राष्ट्रिय महत्व थियो, अब अन्तर्राष्ट्रिय हुँदै गएको छ । नेपालको चाडपर्व हेर्ने पञ्चाङ्ग निर्णायक विकास समिति पनि अन्तर्राष्ट्रिय रुपमै साइतहरु सार्वजनिक गर्न थालिसकेको छ । अमेरिका, बेलायत, जापान र कोरियालगायतका देशहरमा कुन कुन बेला टिकाको साइत छ भनेर सार्वजनिक गर्नु पनि बडादशैंले आफ्नो महत्व विस्तार गर्दै लगेको अर्थको रुपमा पनि बुझ्नुपर्दछ । बडादशैंको सामाजिक, सांस्कृतिक, पौराणिक महत्व भएकै कारणले मान्छेले यसलाई ग्रहण गरिरहेका छन् ।
विश्वका विभिन्न देशमा मनाइने दशैंको तौरतरिका एकै किसिमको हुन्छ कि फरक फरक छ ?
विभिन्न देशको भ्रमणका क्रममा त्यहाँ मनाइने दशैंलाई नजिकबाट हेर्ने मौका पाएको छु । त्यहाँ अलग अलग देशले त्यहाँको समय परिस्थिति र पर्यावरण अनुसार फरक फरक तरिकाले नै मनाएको देखिन्छ । तर, दशैंमा भएको अभिन्न अंगहरु एउटै संस्कृति अनुसार मनाइन्छ । दशैंका एक दुईवटा अंगहरु भनेको दशैं एउटा चाड हो । यसमा मनोरञ्जन छ, केही धार्मिक, अध्यात्मिकता र केही उपासना पक्ष पनि छ । दशैंमा साधनाका पक्षहरु पनि त्यत्तिकै छन् । त्यसलगत्तै विजया दशमीदेखि पुर्णिमासम्म टिकाटालोको समय छ । टिकाटालो र जमरा राख्ने क्रमलाई सबैतिर विधि जानेको छ भने आफैंले र जानेको छैन भने साथीभाइतर्फबाट जमरा ल्याएर टिकाटालो गर्ने चलन छ । तर, जसले विजया दशमीलाई अध्यात्मका रुपमा चिनियो र महत्वका साथ हेर्दै आउनुभएको छ । दशैंका सुरुवाती नौ दिनमा मान्छेले आफ्नो जीवनलाई फेरि पुर्नताजकी गरेर नवीकरणीय गरेर उर्जा प्राप्त गर्ने पर्व पनि हो । बाह्य कुराहरु खाने, पिउने, रमाइलो गर्ने कुराहरु त सबैतिर उस्तैउस्तै जस्तो देखिन्छ । दशैंभित्रको साधनाको, ज्ञानको पक्षमा चाँही कँही न कँही चुकिरहेका छौं । यसो भनिरहँदा नेपालमा चाँही दशैंमा साधनालाई महत्व दिइरहेका हुन्छन् कि भन्ने प्रश्न आउला, यसमा पनि हामी चुकिरहेका छौं । सरकारले समेत दशैंलाई खाने पिउने र रमाउने तरिकालाई मात्र प्रोत्साहन गरिरहेको जस्तो देखिन्छ । तर दशैं अध्यात्म साधना र पारिवारिक मिलनको चाड भएकाले विश्वमै दुर्लभ मानिन्छ । यसमा जीवन्तता भरिएको छ, यसकारण पनि बडादशैं, ठुलो दशैं भनेर विश्वभर छरिएर रहेका नेपालीहरुले मनाउने गरेका हुन् ।
तपाईंले दशैंलाई अध्यात्मिक चाडका रुपमा व्याख्या गरिरहँदा विलासीका रुपमा लिने हिन्दुहरु पनि धेरै छन् । ऋण लिएर नै भएपनि दशैं मनाउने प्रवृतिले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?
समाजको बाहिरी रुपमा देखिने पक्ष हो यो । दशैं मनाउनेहरु सबै हुनेखाने छन् भन्न मिल्दैन । त्यस्तो अवस्थामा कतिपय मान्छेले अर्काको देखासिखीमा अर्थात उसले यस्तो गर्यो मैंले किन नगर्ने ? अरुले नयाँ लुगा किन्यो मंैले किन नकिन्ने ? भनेर प्रतिस्पर्धा गर्ने चलन छ । यस्तो प्रवृत्ति बढ्दै जाने हो भने अरुले घोडा चढ्यो भनेर आफू धुरीमाथि चढ्न जानुजस्तो हुन्छ । यसले निश्चय नै देशको अर्थतन्त्रमा असर पर्छ । त्यसैले कुनैपनि चाड मनाउँदा आफ्नो आर्थिक परिस्थिति हेरेर मनाउने हो । ऋण लिएर, ऋणमा डुबेर चाडपर्व मनाउनुपर्छ भन्नेमा म छैन । किनभने कसैले कसरी मनायो भन्दा पनि आफूले राम्रो ढंगले चाड मनाउने हो । कसैले यो पटक तैंले किन कम गरिस् भनेर त भन्दैन नि । त्यसैले आफ्नो क्षमताले भ्याएसम्म ऋणमा नडुबिकन दशैं मनाउनुपर्छ ।
दशैंको साइत नेपाल र विश्वका विभिन्न देशमा किन फरक पर्न गएको हो ?
समयको फरक भएरै होला । अमेरिका र नेपालमा मात्रै पनि १२, १३ घण्टाको फरक छ । अमेरिकाका राज्यपिच्छे फरक छ । जति हामी पूर्वतिर गयौं, त्यति घण्टा फरक हुन्छ । यसमा त विश्वको समयलाई नै ध्यान दिनुपर्छ ।
दशैंमा केहीले सेतो टीका र जमरा पनि लगाउने गरेको पाइन्छ । खासगरी सेतो, रातो टीका र जमराको महत्व के हो ?
दशैँलाई नेपालीहरुको सबैभन्दा व्यापक पर्व भएको हुनाले यसलाई विभिन्न तरिकाले मनाइन्छ । पूर्वतिर राई, लिम्बुहरुले सेतो टीका जमरा लगाएको पाइन्छ । त्यसको अर्थ भनेको रातो टीकामा अलिकति नकारात्मक संकेत छ । त्यसले कसैको काटमारको भावना देखाउने भएका हुनाले रातोभन्दा सेतो नै लगाउने भनेर लगाउने गरेको पाइन्छ । टीका पनि निधारमा लगाउने भन्दा पनि निधारभर लगाउने चलन छ ।
अर्कोतिर रातो टीकालाई शुभ, विरताको संकेत मानिन्छ । त्यसैगरी जमराको कुरामा पनि शास्त्रमा के भनेको छ भने ‘अन्न नै ब्रह्म हो’ । त्यसैले अन्न मध्येको पनि सबैभन्दा प्रमुख जौं हो, हरेक पूजामा प्रयोग गरिन्छ । यति धेरै महत्व दिएको हुनाले जौंको प्रसाद ग्रहण गर्ने गरिन्छ । नौ दिनसम्म छोपेर जौं उमारिन्छ । त्यसलाई प्रसादको रुपमा ग्रहण गरिन्छ । यो प्राचिन र पवित्र अन्न मध्ये एउटा हो । धेरै स्थानमा जौं सँगै अरु अन्न पनि राख्ने गरिन्छ ।
दशैँमा बलि दिने चलन पनि छ, यो शास्त्रमा नै लेखिएको छ कि चलि आएको चलन मात्र हो ?
बलि भन्ने शब्दको मात्र प्रयोग गर्यौ भने त्यहाँ पशु आउदैँन् । बलि भनेको उपहार हो । भगवानलाई उपहार दिने कुरा हो । बलि भनेको बलिदान हो । शास्त्रको कुरा गर्दा कुन कुनलाई भन्ने अनगिन्ति कुराहरु छन् । त्यसमा सात्विक विचार राख्नेहरुले त्यो शास्त्रहरुबाट राम्रो कुराहरुको संग्रह गरेर पशु बलि भनेको राम्रो होइन भन्ने अर्थ निकालिएको पाइन्छ । किनभने कसैलाई मार्नु धर्म हुदैँन्, यो धर्म हो भने पाप के हो त ?
समाजमा यस्ता मानिस पनि हुन्छन् जसको सोच खाऊँ, पिउ मोज गरौं भन्ने हुन्छ । त्यस्तो मानिसको लागि पूजाका क्रममा पशु बलिका कुराहरु पनि आएका छन् । तर हामी २१ औं शताब्दीमा छौ, यहाँसम्म आइपुग्दा देवी देउताको नाममा काटमार गर्नुलाई त्यति उपयुक्त मानिदैँन् । काटमार राम्रो होइन रहेछ भनेर धेरैले छाडेको पनि छन । वास्तवमा भगवानको वहानामा मान्छेले आफंैले खानलाई गरेको एउटा तरिका मात्र हो ।
यस्तो काम धर्म विरोधी हो भनेर मानिसहरुले भनिरहेका हुन्छन्, तर आफैंले विरोधी काम पनि गरिरहेका छन् नि ।
यस्तो तरिका दुई चरित्रको भयो, कुनैपनि हालतमा राम्रो भएन । जसले खादैँन्, उसले दिनु हुदैँन् । म माछा मासु खादिन् र म काटमारको पक्षमा पनि छैन् । म जस्तै धेरै मानिस छन् । अब एकथरी मान्छेहरु भने दुई चरित्र भएका हुन्छन् । म बलि दिन्न तर खान चाहीं खान्छु भन्ने खालका छन्, यो गर्नु हुदैँन् ।
जे काम गर्दा आफ्नो आत्माले शान्ति पाउदैँन्, त्यस्तो काम अरुलाई गर्नपर्छ भनेर भन्नु भएन नि । आफू खाने अनि गर्न चाही हुदैँन् भन्नु पनि राम्रो भएन । यसले गर्दा सबैभन्दा ठूलो कुरा आफूले आफैलाई सोध्ने हो । यदि मेरो सन्तानलाई कसैले लगेर खान्छ भने म के भन्थे होला ? त्यसैगरी अर्काको छोराछोरी हामीले खाइ रहेका छौं, यो ठिक हो कि होइन भनेर आफैलाई सोध्ने हो ।
शास्त्रले पनि यसलाई बढाउने होइन, घटाउनेतिर लाग्नुपर्छ भनेर भनेको छ । अर्कालाई मार्नु, काट्नु, खानु कुनै पनि हालतमा राम्रो काम होइन् ।
तपाईले बलि दिनु हुदैँन् भनेर लामो समयदेखि अभियान पनि चलाउनु भएको छ, केही हदसम्म कम भएको जस्तो लाग्छ ?
केही मात्र होइन, धेरै नै कम भएको छ । पहिला पहिला यो अभियान सुरु हुनुभन्दा अगाडि अष्टमी, नवमीमा काठमाडौंका सडकमा निस्कन सकिँदैनथ्यो । गाउँघरमा पनि त्यस्तै हुन्थ्यो । अब सडकमा त्यो अवस्था छैन् । नरीवल चढाउन थालेका छन् । भद्रकालीको मन्दिरदेखि लिएर गुहेश्वरी, दक्षिणकालीसम्म हेर्दा कुनैबेला नरीवल भनेको के हो भन्ने चलन थियो । तर अहिले सबैतिर नरीवल चढाउने चलन आयो ।
पूर्ण रुपमा निर्मूल पार्नको लागि कसरी सकिएला ?
पूर्ण रुपमा निर्मुल पार्न एउटा चाँही सरकारी पक्षबाट पनि लाग्नुप¥यो । राज्य संयन्त्रले नेपालमा नेपालीहरुको लागि गर्नुपर्ने धेरै काम छ । सुशासनका लागि, सुुख दिनको लागि र समुुुन्नतिको लागि कामहरु गर्नुपर्नेछ । तर दशैंको बेला राज्यको संयन्त्र खाद्य संस्थानमा कताबाट भेडा र च्याङग्रा ल्याउने भन्ने सोचमै व्यस्त हुन्छ । त्यसैले पहिले त राज्यले पनि प्रोत्साहन गर्नुप¥यो । र जनताहरुले पनि त्यही अनुसारको विचार वा धारणा बनाउँदै जान्छन । राज्यले कसैले मासुको दोकान खोल्छु भन्यो भने पाँच लाख रुपैयाँ सजिलै पाउँछ । अर्कोले फलफूल वा तरकारीको पसल राख्छु भन्यो भने त्यति कमाउन गार्हो पर्छ । त्यसैले पनि यहाँ त राज्यले नै प्रोत्साहन गरिरहेको छ । किन दिएको होला थाहा छैन् । देशमा जतिपनि महामारीहरु छन् ति सबै माछा मासुकै कारणले भइरहेको छ । संसारमा अहिले जतिपनि रोगहरुको कारण छन् सबै माछा मासुकै कारण वा खानपीनका कारणले भइरहेकोछ । यो सबैलाई थाहा छ । तर राज्यले नै प्रोत्साहन गरिरहेको देखिन्छ । यो कुनै पनि हालतमा उपयुक्त होइन् । राज्यले सिंहदरबारभित्र काटमार गर्न भएन, राष्ट्रपति, प्रधानमन्त्रीको भवनभित्र काटमार गर्न भएन । कुनैपनि सरकारी काममा माछा मासुको भोजभत्तेर नगर्नुहोला भन्न चाहन्छु । यस्तो गरियो भने शान्ति आउँदैन । शान्तिको कुरा गर्दै माछामासु र जाँडरक्सी सेवन गर्दा शान्ति आउँदैन् । त्यसैले यसलाई ख्याल राख्नुपर्छ ।
वौद्ध धर्मावलम्वीहरु पनि दशै मनाउँछन् । उहाँहरुले मनाउने दशैं के फरक हुन्छ ?
उहाँहरुको पनि दुईवटा चरित्र हुन्छ । बुद्धले परम्परादेखि चलिआएको धर्म, संस्कृतिमा बलिप्रधान देखेर नै ठिक भएन भनेर लाग्नुभयो । उहाँहरुको पञ्चशिल सिद्धान्त छ । एक नम्बरमा हिंसा गर्नुहुन्न भन्नुभएको छ । हिंसा गर्नुहुन्न भनेर उहाँले त्यस्तो राम्रो उपदेश दिनुभयो तर उहाँका थोरै मात्र शिष्यहरु अहिंसा गर्ने छन् । हुँदाहुँदा बौद्ध धर्म अहिंसावादी बौद्ध समाज भनेर गठन गरेको देख्छु । आफूले काटमार नगरेपनि बजारबाट ल्याएर खान हुन्छ भन्ने उहाँहरुको धारणा छ । उहाँहरुले नखाइदिने हो भने त्यो पसल नै खुल्दैनथ्यो । तर उहाँहरु भन्नुहुन्छ हामीले काट भनेको होइन राखेको रहेछ, तरकारी खाए जस्तो हो भन्नुहुन्छ । तर गौतम बुद्धले त्यस्तो भन्नुभएको छैन् । जसरी सनातन हिन्दु धर्मावलम्वीहरुमा अलमल छ त्यस्तै बौद्ध धर्ममा पनि छ । मात्र जैनहरुमा यस्तो अलमल देखिदैन । अहिले सनातन हिन्दु धर्मभित्र पनि विभिन्न सम्प्रदायहरु भित्रिएका छन् जसले काटमार भनेको गलत हो पनि भनेका छन् ।
हिन्दुहरु पनि धेरै समुदायले दशै मनाउँदैनन् । उदाहरणको लागि ललितपुरको खोकनाबासीले अहिले पनि दशै मनाउँदैनन् । यसको कारण के होला ?
कतिले फाप्दैन भन्ने चलन छ । कुनै दुर्घट्ना भयो भने हामीलाई फाप्दैन् भन्छन् । यसरी व्यक्ति नै पिच्छे फरक धारणा हुनसक्छ । तर समग्र भन्दाखेरी मनुष्य जीवनमा मेरो लागि मात्र हो कि राष्ट्रको लागि गर्ने भन्ने सोच्ने हो भने सामान्य काटमारलाई छाड्न सकिन्छ । यसमा युद्धको कुरा जोडिएको र विजया दशमीको चलन पनि पहिलेको जस्तो छैन् । समयअनुसार परिवर्तन हुँदै गइरहेको छ, जानु पनि पर्छ । त्यसैले चाडपर्वहरुलाई समयअनुसार मिलाएर लानुपर्छ अनि समाज, राष्ट्र र विश्वमा त्यसका राम्रा पक्षलाई लिएर गयो भने धर्म संस्कृति जीवन्त रहन्छ ।
नेपालका चाडपर्वमा पछिल्लो समय पश्चिमा संस्कृति भित्रिदै गयो भन्ने चिन्ता छ । दशैंलगायतका चाडपर्वहरुको पौराणिक सांस्कृतिक महत्वको पुस्तान्तरण हुन नसकेको हो कि ?
यसका लागि प्रयत्न पनि गरेनौं, राज्यले पनि प्रयत्न गरेन । यस्तो कुरा सिक्ने भनेकै आफ्नो घरबाट हो । तर उनीहरुलाई नै त्यसबारे थाहा छैन भने सिक्ने कुरा भएन । त्यसको लागि पाठ्यपुस्तकहरुमा नै संस्कृतिको बारेमा राख्ने गर्नुपर्छ । जीवनसँग जोडिएका संस्कृतिका विषयहरु पढ्न पाउने तालिम केन्द्रहरु हुनुपर्छ । जमरा कसरी उमारिन्छ भन्ने तालिम होस । तर अहिलेको बच्चाहरुलाई जमरा कसरी उमारिन्छ भन्ने थाहा छैन् । अहिले मानिसहरुमा अलमल पनि छ, जति बुझ्नुपर्ने नबुझेको अवस्था छ । देशको लागि राम्रो होइन । कुनै देशको धर्म, संस्कृति, इतिहास भूगोल मासिदै गयो भने देशको अस्तित्व जोगाउन समस्या पर्छ । यि कुरालाई राज्यले देशको लागि नेतृत्व गर्छु भनेर हिड्नेहरुले बुझ्दिनुपर्छ । विकृतिको सुधार गर्न भन्दा पनि आलोचना मात्र गरेर बस्ने काम राज्यको तर्फबाट भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्