९ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार विचार समाचार समाज साहित्य/ समाचार

साथी (विचार)

– मुना चौधरी
कुनै साथी बाध्यतावश छुटे । कुनै जानेर छुटे । कोही नजानेर छुटे । कोही बसिरहे मनमा । कोही नचाहेर पनि टाढा भइदिए । कोही चाहँदा चाहँदै पनि आफ्नो भएन । कोही चाहेर पनि विरानो भए । कसैले राम्रो छाप छोडेर गए । कसैले नराम्रो ।

राम्रो छाप छोड्ने पनि साथी नै थिए । नराम्रो छाप छोड्ने पनि साथी नै थिए। राम्रो छाप छोड्नेबाट आत्मियता अनुभव गरेँ । नराम्रो छाप छोड्नेसित धेरै थोक सिकेँ ।

आत्मियता दर्साउनेसित स्नेह र ममतामय साथ, सौहाद्र र सहयोग पाएँ । नरूचाउनेहरूसित धैर्य गर्न, आँट कस्न र सहानुभूति राख्न सिकेँ । साथीहरू जेजस्ता थिए मलाई रूचाउने, नरूचाउने सबैप्रति मेरो समान आत्मियता र सौहाद्रता छ ।

कोही धेरै कुरौटे पनि थिए। जसलाई नसुनिकन अगाडि बढिरहेँ । उनीहरूप्रति धेरै माया लाग्छ वेलावेला । सहानुभूति प्रकट हुन्छ वेलावेला । लाग्छ उनीहरू कति अबुझ छन् । अबुझ भएर त कुरा काटेका हुन् । अरूलाई होच्याउने, खोच्याउने र जिस्काउने गरेका छन् । यदि बुझकी भइदिएका भए त्यस्तो गर्दैनथे ।

कोही बोलक्कड थिए । कोही मौन बस्ने खालका थिए । कोही कुरा काट्ने खालका थिए । हुन त मैले पनि जानी नजानी धेरै साथीहरूको चित्त दुखाए होला । कसैलाई मेरो व्यवहार मन परेन होला । कसैलाई बोली त कसैलाई मेरो काम मन परेन होला ।
साथी त्यो हो जसले दुःख, सुखमा साथ दिएर सकारात्मक बाटो देखाउँछ । अर्को हिसाबमा भन्दा दुस्ख, सुखमा साथ नदिने साथी नै होइनन् भन्ने होइन । दुरीको हिसाबले कोही साथी टाढा बसेका हुन्छन् । भौतिक दुरीको कारणले सहयोग गर्न असम्भव हुन्छ । कोही नजिकै हुन्छन् । साथ नदिनेहरूबाट पनि धेरै कुरा सिकेकी छु । त्यही भएर साथ नदिनेलाई पनि मैले साथी नै स्वीकार्छु । स्वार्थ राखेर सहयोग गर्नेहरूसित निस्वार्थ भाव साथीसित राख्नुपर्छ भन्ने सिकेँ । मित्रवत् व्यवहारको परिचय सायद यही नै हो ।

यतिवेला ठ्याक्कै ६ जना साथीहरूलाई सम्झेँ । सबैजना केटीहरू नै थिए । नि। मा। वि। पडरिया थारूटोलमा म पढ्दै गर्दा उनीहरूसित मेरो भेट भएको थियो ।लहानभन्दा ४ कि।मि। पश्चिमतिर रहेको मेदनीपुर गाउँबाट ६ जना साथीहरू गीता, राधा, नितु, रामकुमारी, रेखा र अनिता पढ्न आउँथे । लहानभन्दा पडरिया नि। मा। वि। २ कि। मि। पछिम थियो । विद्यालयबाट २ कि। मी। पछिम मेदनीपुर गाउँ छ । हामी ६ कक्षामा थियौँ । उनीहरू ५ कक्षासम्म गाउँकै विद्यालयमा पढे । ६ कक्षामा उनीहरू यहाँ भर्ना भएका थिए । उनीहरू त्यति सानो उमेरमा दैनिक २ कि। मि। हिँडेर पढ्न आउथे। त्यति सानो उमेरमा बिहानै खाना पकाएर खाएर आउथेँ । आखिर केटी मान्छेको भागमा सानै उमेरदेखि भान्सा र घरधन्दाको काम जो थुप्रिन्छ । उनीहरूको काँधमा भान्साको जिम्मेवारी, मसिना अौँला र हत्केलामा कलम र पुस्तकको भार थियो ।

हामी पढ्ने निम्न माध्यमिक विद्यालय भएकोले ७ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । २ वर्ष सँगै पढ्यौँ । त्यसपछि कक्षा ७ उत्तीर्ण भएर सबैजना पायक पर्ने मा।वि। मा कक्षा ८ मा भर्ना भयौँ । तर मेदनीपुर गाउँबाट आउने ती ६ जना साथीहरू हामी पढ्ने पशुपति आदर्श मा। वि। लहानमा भर्ना भएनन् । उनीहरू बीचमा पढाइ छाडे वा उनीहरूकै गाउँ नजिक पर्ने मा। वि। मा भर्ना भए थाहा छैन । हामी मा। वि। तहको पढाइ सकाएर क्याम्पसमा उच्च शिक्षाका लागि भर्ना भयौँ तर, उनीहरूलाई क्याम्पसमा पनि देखिनँ ।

हाम्रो गाउँ भोटियाटोलबाट पनि उनीहरूको गाउँ २ कि। मि। टाढा भएकोले त्यसपछि उनीहरूलाई कहिले भेट्न गइनँ । उनीहरूले पनि हामीलाई भेट्न आएनन् ।

अहिले सामाजिक सन्जालमा खोज्दा पाउन सकिनँ वा कि मैले चिन्न सकिनँ । कि उनीहरूले सामाजिक सन्जाल चलाउँदैनन् । उनीहरू वेलावेला मेरो मानसपटलमा आइरहन्छन् । उनीहरूका बाआमालाई पनि मान्नैपर्छ २ कि।मि। हिँड्न लगाएर छोरीहरूलाई पढ्न पठाउँथे । उनीहरूको निर्दोष अनुहार, बोली र व्यवहारले आज पनि मेरो मुटुमा कहिले नमेटिने प्रेममय छाप छोडेको छ। टिपिनको समयमा सँगै बसेर खाजा खाएको, खेलेको, हाँसेको, कक्षाकार्य गरेको, कागजको पुच्छर बनाएर नजान्ने गरि पछाडि पुच्छर झुन्ड्याइ दिएको, कक्षाकोकामा निदाएको वेला गालामा कलमले कोरिदिएको, मसिको जुङ्गा समेत कोरिदिएको, रिसाएको र खुसी भएको तमाम क्षणहरू सम्झिरहेकी छु ।

सायद उनीहरू आफ्नो घर व्यवहारमा व्यस्त छन् वा मैले उनीहरूलाई खोजेझैँ मलाई पनि सामाजिक सन्जालमा उनीहरूले खोजिरहेका छन् र मलाई चिन्न सकेका छैनन् ।

समयसित धेरै थोक परिवर्तन भइसकेको छ तर मुटुमा घर बनाएर बसेका साथीहरूको निर्दोष अनुहार परिवर्तन भएको छैन । जीवन एक विसौनी हो । एक ठाउँमा भेटेको साथी अर्को ठाउँमा छुट्छ । पुरानो साथीसँग छुटिँदा खल्लो लागिरहन्छ । मन खिन्न भइरहन्छ । नछुटे हुन्थ्यो लाग्छ । मन गरौ त्यसै भइजान्छ । तर, नयाँ ठाउँ र साथीबारे उत्सुकता त्यही क्रमले बढिरहन्छ । जीवन यात्राको क्रममा धेरै साथीहरूलाई भेट्न बाँकी नै छ । उनीहरूको मनमा मेरो र मेरो मनमा उनीहरूले स्थान बनाउन बाँकी नै छ ।
जसले कठिन परिस्थितिमा साथ दिए उनीहरू मनमा स्थान पाइरहे । जसले कठिन परिस्थितिमा साथ छोडे उनीहरू पनि मनमा बसिरहेका छन् । साथ दिनेसित आत्मियता अनुभव गरे । कठिन परिस्थितिमा साथ छोड्नेहरूसित शिक्षा पाएँ । दुई, चारजना साथी विरोधी भएन भने जीवनमा अगाडि बढ्नुको के नै मज्जा हुन्छ र रु साथीहरूसित प्रतिस्पर्धा गर्नुको बेग्लै मज्जा हुन्छ। साथ छोड्यो वा कसैले विरोध गर्यो भन्दैमा उसलाई शत्रु नठानौँ । साथी नै मानौँ किनकि उसको विरोधले त केही बन्ने आँट कसेको हुँ भन्ने सोच राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्