५ कार्तिक २०८१, सोमबार
मुख्‍य समाचार राजनीति

पूर्वाधार विकासमा अध्ययन र डिजाइनमा समस्या देखियो : मन्त्री दाहाल

५ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकास गर्दा अध्ययन र डिजाइनमा समस्या देखिएको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको छलफलमा उनले विकासका काममा अध्ययनको साथै योजना तर्जुमा पनि ठूलो समस्या देखिएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो संरचनाहरु बाढीपहिरो थाम्न सक्ने छन् कि छैनन् भन्ने कुरामा अध्ययन र डिजाइनमा केही समस्या छ भन्ने देखियो । यस्तो कामहरुमा कुनै पनि सम्झौता गर्न सकिदैन । यसको साथै योजना तर्जुमा पनि अव्यवस्थित नै छ । योजना आयोग छ, त्यसले राम्रो योजना पनि बनाएको छ । तर योजना एकातिर काम अर्कोतिर गरिरहेका छौं । मान्यहरुको अपेक्षा योजना आयोगको योजनासँग मिल्दैँन् । योजना कार्यान्वयन गर्ने ठाँउमा अव्यवस्थित तरिकाले योजनाहरु राखिरहेको अवस्था छ ।’

यसको साथै उनले राष्ट्रिय गौरवका आयोजनामा वन ऐन लागू हुनु नहुने धारणा पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘विकासको लागि ऐनहरु पनि बाधक छन् । ऐनहरु बाधक हुनु भएन ।  यसका साथै वन कति चाहिने हो त्यसमा स्पष्ट हुनुपर्छ । राष्ट्रिय गौरवका आयोजनामा वन ऐन बाधक बनेको छ तर यसमा वन ऐन लागू हुनु हुदैँन् ।’

वर्तमान सरकारले आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको अवस्थामा थुप्रै अवरोधहरु आएको भन्दै सो अवस्थामा पनि लक्ष्य हासिल गर्न लागि परेको उनको भनाई छ ।

उनले भने, ‘सरकार बनेको सय दिन पूरा हुन लागेको छ । आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको अवस्थामा यसपटकको बाढी र पहिरोले थुप्रै अवरोध गरेको छ । तरपनि लक्ष्य निर्धारण गरेका छौ र लक्ष्य हासिल गर्न लागि रहेको अवस्था छ । क्षतिको पुनःनिर्माणका लागि मन्त्रालयलाई मात्र साढे १५ अर्ब जस्तो लाग्छ । तर पनि सय दिनको जुन लक्ष्य राखेका थियौं त्यसमा पुग्न लागेका छौ ।’

बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा र योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्