६ कार्तिक २०८१, मंगलवार
मुख्‍य समाचार समाज

गौशाला धर्मशाला ‘कब्जा’विरुद्ध हस्ताक्षर संकलन

६ कात्तिक, काठमाडौं । पशुपतिनाथ बचाउ महाअभियानले पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला अनाधिकृत कब्जाविरुद्ध हस्ताक्षर संकलन सुरु गरेको छ ।

महाअभियानले मंगलबार पशुपति क्षेत्रमा सेतो कपडा राखेर हस्ताक्षर संकलन कार्य सुरु गरेको हो । सोही क्रममा नागरिक बचाउ महाअभियानको संयोजक कुमार बस्नेतले धर्मशाला भनेको हाम्रो भूमि भएको भन्दै कुनैपनि हालतमा नछाड्ने बताए ।

मारवाडीहरुले गरेको कामको विरुद्धमा सबै राष्ट्रवादी, देशभक्तहरु र हरेक नेपाली एक भएर लाग्नुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘मारवाडीहरुले गरेको कामका विरुद्ध हस्ताक्षर संकलन सुरु गरेका छौ । सबै राष्ट्रवादी, देशभक्तहरु र हरेक नेपाली आफ्नो पहिचानलाई बचाउनुपर्छ । धर्मशाला भनेको हाम्रो भूमि हो, पशुपति क्षेत्र विकास कोषको हो । धर्मशालालाई हामी कुनैपनि हालतमा छाड्ने छैनौं ।’

पशुपति गौशाला धर्मशालाको स्वामित्व र संचालनको विषय विवाद एवम चर्चाको चुलिमा छ ।

गौशाला चोकमै रहेको ९ रोपनी ९ आना २ पैसा क्षेत्रफलमा फैलिएको उक्त जग्गा कसको हो र यसलाई सञ्चालन गर्न पाउने हक कसको हो भन्ने विषयमा अहिले पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति आमनेसामने भएका छन् ।

सरकारकै मातहत रहेको कोषको कदममा काठमाडौँ महानगरपालिकाले पूर्ण रूपमा सहयोग गरिरहेका अदालतबाट फैसला भएपछि विवाद सुल्झिने अपेक्षा गरिए पनि झनै बल्झिएको छ ।

यस विषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ सदस्यीय समिति समेत गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्