७ कार्तिक २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही अघि बढेको बताएका छन् ।

बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारवाही गरिएको बताएका हुन् ।

उनले भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारवाही अगाडि बढाउने छु । जो सुकै भए पनि सहकारी ठगलाई कानूनी कारवाही गर्ने छौं । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र  ठगी गर्नेहरुलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको छ र ल्याउँदै छ । सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही अघि बढेको छ । हालसम्म ६ सय भन्दामाथिलाई कानूनी कारवाही गरिएको छ । ५ सय ७५ भन्दा बढि त जेलमै छन् ।’

साथै, उनले सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र नभई बचतकर्ताको बचत फिर्ता गर्नको  लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने समेत बताए । उनले यसका लागि सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम अघि बढेको बताए ।

उनले भने, ‘सहकारी ठगहरुलाई कारवाही मात्र गर्ने होइन बचतकर्ताको बचत फिर्ता गर्नको  लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम संगसँगै अघि बढाइँदै छ ।’

 

प्रतिक्रिया दिनुहोस्