७ कार्तिक २०८१, बुधबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

हमास विरुद्धको युद्ध अन्त्य गर्न इजरायललाई अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

७ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार इजरायललाई हमास विरुद्धको युद्धमा रणनीतिक सफलताका साथ अन्त्य गर्न आग्रह गरेका छन् ।

हमास विरुद्धको युद्धमा इजरायलले धेरै रणनीतिक सफलता प्राप्त गरिसकेको बताउँदै उनले इजरायललाई युद्धको दीर्घकालीन समाधान खोज्न प्रोत्साहित गरेका हुन् ।

ब्लिन्केनले इजरायलबाट साउदी अरेबिया जाने क्रममा यो टिप्पणी गरेका थिए, जहाँ उनले क्षेत्रको युद्धलाई अन्त्य गर्न वार्ता गर्ने लक्ष्य राखेका छन् । इजरायलबाट प्रस्थान गर्नु अघि, तेल अभिवमा हवाई हमला चेतावनी बज्यो र लेबनानबाट दुईवटा प्रक्षेप्य इजरायलतर्फ प्रहार गरिएको थियो ।

ब्लिन्केनले भने, ‘गाजामा अधिकांश रणनीतिक उद्देश्यहरू हासिल गरिसकिएको छ । अब यी सफलताहरूलाई दीर्घकालीन रणनीतिक सफलतामा परिणत गर्ने समय आएको छ ।’ उनले युद्ध अन्त्य गर्न र बाँकी बन्धकहरूलाई मुक्त गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

युद्धमा अहिलेसम्म कुनै ठोस समाधान नआए पनि मिस्रले युद्धलाई छोटो समयको लागि रोकेर केही बन्धकको रिहाइको प्रस्ताव गरेको छ । यद्यपि, हालसम्म कुनै निश्चित प्रस्ताव तय भएको छैन ।

इजरायलले उत्तर गाजामा ठूला सैनिक अभियान सञ्चालन गरिरहेको छ र मानवीय सहायता सीमित गरिएको छ । ब्लिन्केनले सहायता रोकिने हो भने अमेरिकाले इजरायललाई दिइएको सैन्य सहयोग घटाउन सक्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्