७ कार्तिक २०८१, बुधबार
खेलकुद मुख्‍य समाचार समाज

बिपी कोइराला स्मृति कप टि–ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा

७ कात्तिक, भैरहवा । रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि–ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ ।

सिद्धार्थ रंगशाला मैदानमा बुधबार जित्नैपर्ने खेलमा श्रीलंकाको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसन टिमलाई पराजित गर्दै पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी सेमीफाइनल पुग्ने चौंथो टिम बन्न पुगेको हो । यसअघि नै लाइफ केयर क्रिकेट क्लब, नेक्सस रुपन्देही एघार र साइक क्रिकेटर्सले सेमीफाइनलमा स्थान पक्का गरिसकेका थिए ।

लिग चरणको सबै खेल सम्पन्न भएपछि अंकतालिकामा भारतको लाइफ केयर क्रिकेट क्लब सबै ४ खेलमा जित हात पार्दै ८ अंक सहित शिर्ष स्थानमा रह्यो । ४ खेलमा ३ जित र १ हार बेहोर्दै ६ अंक सहित नेपालको नेक्सस रुपन्देही एघार दोश्रो स्थानमा रह्यो। यस्तै ४ खेलमा २ जित र २ हार बेहोरेको बंगलादेशको साइक क्रिकेटर्स ४ अंक सहित तेश्रो स्थानमा रह्यो । ४ खेलमा १ जित र ३ हार पछि २ अंक बटुल्न सकेको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी चौंथो स्थानमा रह्यो । सबै ४ खेलमा पराजित हुँदै श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसन प्रतियोगिताबाट बाहिरीएको छ ।

प्रतियोगिताको दुवै सेमीफाइनल खेल शुक्रबार खेलिनेछ । पहिलो सेमीफाइनलमा भारतको लाइफ केयर क्रिकेट क्लब र पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी तथा दोश्रो सेमीफाइनलमा बंगलादेशको साइक क्रिकेटर्स र नेपालको नेक्सस रुपन्देहि एघारबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।

बुधबार सम्पन्न प्रतियोगिताको लिग चरणको अन्तिम दुई खेलमा जावेद जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी र लाइफ केयर क्रिकेट क्लब विजयी भए ।

आजको पहिलो खेलमा पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीले श्रीलंकाको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई ४७ रनले पराजित गर्यो ।

जावेद गोहरले दिएको १३८ रनको लक्ष्य पछ्याएको श्रीलंकन टिमले १७. २ ओभरमा ९० रनमा सबै विकेट गुमायो । श्रीलंका स्टेट सर्भिसेजको लागि समन कुमाराले सर्वाधिक ३९ रन तथा थुशारा लक्षितागले २३ रन बनाए। पाकिस्तानी टिमको बलिंगमा शमुन इकबालले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १४ रन खर्चिए । रिशिभ जोशी र रमिशले २÷२ तथा जईम खान र अलि अन्सारले १÷१ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो ।

जावेद गोहरका ओपनर अलि हुसेनले सर्वाधिक ५८ रन बनाए जुन क्रममा ५९ बलमा ७ चौका प्रहार गरे । रिशिभ जोशीले अविजित १६ तथा कप्तान इमरान नाजिरले १४ रन बनाए । श्रीलंकन टिमको बलिंगमा थुशारा लक्षिताग र समन कुमाराले २÷२ विकेट लिए ।

आजको दोश्रो खेलमा भारतको लाइफ केयर क्रिकेट क्लबले बंगलादेशको साइक क्रिकेटर्सलाई पराजित गर्यो । लाइफ केयरले दिएको १९० रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशि टिमले २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर १२६ रन मात्र बनायो ।

साइक क्रिकेटर्सको ब्याटिंगमा सहादत रहमानले सर्वाधिक २७ रन तथा कृष्ण कुमारले १८ रन योगदान दिए। बलिंगतर्फ लाइफ केयरका दिपक पुनिया, योगेश कुमार र रोहित दांगवालले समान २ विकेट लिए। सक्षम शर्मा, क्षितिज त्रिपाठी र तुषार वर्माले १÷१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको लाइफ केयर क्रिकेट क्लबले २० ओभरमा ४ विकेट गुमाएर १८९ रन बनायो ।

लाइफ केयरको लागि विपुल कम्बोज र जस्मित नैनले अर्धशतकीय योगदान दिए। अविजित रहेका नैनले ४२ बलमा ३ चौका र ५ छक्का मद्दतले ७२ रन तथा कम्बोजले ५२ बलमा ९ चौका र २ छक्का मद्दतले ७१ रन बनाए । २८ रनमा ३ विकेट गुमाएको अवस्थामा दुवैले ११४ रनको साझेदारी गरे। दिपक पुनियाले २० तथा शुभम लाम्बाले १० रन बनाए ।

साइक क्रिकेटर्सको बलिंगमा मोहम्मद ओमरले २ तथा कृष्ण कुमार र राकिबले १÷१ विकेट लिए । नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पांच देशका क्लब टिमहरुको सहभगिता छ। प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा भइरहेको छ ।

स्पोर्टस टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले थम पुरस्कार स्वरूप ५ लाख, दोश्रोले ३ लाख, म्यान अफ द सिरिजले ३५ हजार, बेस्ट बलरले २० हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्