समलिङ्गी विवाह आवश्यकता भन्दा विदेशी एजेण्डा हो’
१४ कात्तिक, काठमाडौं । समलिङ्गी विवाहले पूर्ण कानुनी मान्यता पाए समाजमा ठूलो विखण्डन र देशलाई दीर्घकालिन् असर पार्ने सरोकारवालाहरुले चेतावनी दिएका छन् ।
बुधबार राजधानीको माईतिघर मण्डलामा आमूल परिवर्तन नागरिक पार्टीले गरेको खबरदारी कार्यक्रममा वक्ताहरुले अदालत प्रभावमा परेर समलिङ्गी विवाहको गलत नजिर बसाएको आरोप लगाएका छन् ।
डा.केबी रोकायाले नेपालमा समलिङ्गी विवाहले पूर्ण मान्यता पाए देश गम्भिर दुर्घटनामा पर्ने चेतावनी दिए । रोकायाले धमाधम यसलाई कानुनि मान्यता दिदै गर्दा काहीँ कतै छलफल नगरी ल्याईएकोप्रति रोष व्यक्त गरे ।
नेपालमा विदेशीहरुले जबर्जजस्त लादेको बताउँदै भने,“रुसमा समलिङ्गी विवाह गरिए मृत्यूदण्ड दिने व्यवस्था रहेको छ, युगाण्डाले समलिङ्गी विवाह बिरोधी कानुन पास गरेपछि अमेरिकाले आर्थिक नाकाबन्दी लगयो, यूरोपियन यूनियनले सम्पूर्ण सयहयोग र बिश्व बैंकले ऋण बन्द गरे, अब भन्नुस यो एजेण्डा कसको हो ?”
संसारमा २१० वटा राष्ट्रहरुमध्ये ३५ वटा देशहरुमा मात्रै यस किसिमको विवाहलाई मान्यता दिइएको र नेपाल एसियामै पहिलो राष्ट्र भएकोप्रति डा.रोकायाको चिन्ता व्यक्त गरे ।
आयोजक आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले आफूहरुले सामाजिक र प्रकृति विपरितको समलिङ्गी विवाहको विरोध गर्दै गर्दा स्वतन्त्रता विरोधी भएको आरोपको खण्डन गरे ।
पछिल्लो समय सर्बोच्च अदालतको एकल इजलासले त्यसलाई मान्यता दिएकोप्रति आक्रोष व्यक्त गर्दै कामीले भने,“अदालत कसको प्रभावमा परेर समाज र देश विरोधी फैसला गर्यो जनता जान्न चाहन्छ ।” “अदालत र सरकारमा बस्नेहरु कुन शक्तिको भरौटे हो ? यस्तो समाज भाँड्ने एजेण्डामा विक्न हुन्छ ? तपाईहरु कसको दबामा हुनुहुन्छ ?” कामिले थपे ।
सत्ता र सरकारमा बसेर जनपक्षिय भन्दा जनविरोधी कार्यलाई बढावा दिएको भन्दै अध्यक्ष कामीले प्रधानमन्त्री केपी ओलीको राजीनामासमेत मागेका छन् ।
त्यसैगरी सो पार्टीक अर्का अध्यक्ष तथा प्रवक्ता भरत गिरीले नेपालीको आवाश्यकताले भन्दा पनि विदेशीको एजेण्डालाई आङ्गिकार गरेर समाजमा विखण्डन ल्याउने कार्य भएकाले खारेज हुनुपर्ने माग राखे । गिरीले बिस्तारै समलिङ्गी विवाहको विरुद्धमा समाज उठ्नेप्रति विश्वस्त रहेको बताए ।
नेकपा(एमाले)का युवा नेता प्रकाश रोकायाले देश र समाजलाई विकृत बनाउने यस विवाहको प्रावधानलाई ठूला भनिएका पार्टीहरुले पनि विरोध गर्नुपर्ने धारणा राख्दै भने,“यो एजेण्डा पश्चिमा शक्तिहरुको हो र यसमा ठूला नेता, कानुनविददेखि ठूला भनिएका मिडियासमेत प्रभावमा छन् ।”
अधिवक्ता सन्दिपकुमार शाहीले समलिङ्गी विवाहसम्बन्धी सर्बोच्च अदालतको फैसला समाजलाई अपाच्य भएको र त्यसको विरुद्धमा अदालतमा मुद्धा परिसकेकोले पुनरावलोकन भएर आउने विश्वास लिए ।
नागरिक सरोकार नेपालका कार्यकारी निदेर्शक डा.जोमेश वडले नेपालको जनसंख्या रित्याएर समाज र देश कमजोर बनाउने एजेण्डालाई कुनै पनि हालतमा खारेज गर्नु पर्ने धारणा राखे ।
भ्रूणको आवाज नेपालकी अध्यक्ष सुसन कँवर पौडेलले नेपालमा व्यापक मात्रामा भू्रँण हत्या भइरहेको दर्दनाक अवस्था रहँदै गर्दा समलिङ्गी विवाह जस्तो अप्राकृतिक र समाज विरोधी एजेण्डा आउनु दुःखत रहेको बताईन् ।
सुन्दर ढोका साथी सेवाका पुन्य प्रताप शाहले नेपाली समाजलाई केही कसैगरी खण्डित गर्न नसकेपछि अहिले विदेशीहरुले अदालातको बाटोहुँदै समलिङ्गी विवाह जस्तो गलत एजेण्डा घुसाएको ओरोप लगाए ।
आयोजक आमूल परिवर्तन नागरिक पार्टीका उप–महासचिव विदुर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ताः ठूला विकृति विरुद्ध माइतिघर मण्डलामा खबरदारी कार्यक्रम गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्