राससका नायब महाप्रबन्धक रिमाल सेवानिवृत्त
२३ कात्तिक, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल सेवानिवृत्त भएको छ । समितिमा विसं २०५१ चैत १ गते अधिकृतस्तर छैटौँ तहको समाचारदाता पदमा स्थायी सेवामा प्रवेश गरेका रिमालले २९ वर्ष सात महिनाको सेवापछि यही कात्तिक २२ गतेदेखि उमेर हदका कारण अवकाश भएको हो ।
एघारौँ तहको नायब महाप्रबन्धक (समाचार समूह) बाट सेवानिवृत्त भएका उसले राससमा समाचारदाता, सम्पादक र प्रधानसम्पादकको जिम्मेवारी सम्हालेको थियो । पछिल्लो समय उ राससको अर्थ तथा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा हुन्थ्यो ।
रिमालको सक्रियताबाट पाठ सिकौँ : कार्यकारी अध्यक्ष झा
सेवानिवृत्त पूर्वनायब महाप्रबन्धक रिमालको बिदाइ तथा कर्मचारीको नियमित बैठक कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समाचार सेवाको गुणस्तर र उन्नयन तथा सेवा विविधीकरणमा रिमालले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।
अध्यक्ष झाले संस्थाको जिम्मेवारी इमान्दारपूर्वक पूरा गर्ने रिमालबाट सक्रियताका साथ कसरी काम गर्ने भनी पाठ सिक्न जरुरी रहेको बताए । “पछिल्ला वर्षमा दस्तावेजीकरणका हिसाबले पनि रासस बलियो छ, यसका आधारमा राससले अब धेरै फड्को मार्नेछ । राससको समाचार सेवालाई २४ घण्टा बनाउन, रासस सङ्ग्रहालय स्थापना र मातृभाषाको समाचार विस्तारमा उसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, कार्यकारी अध्यक्ष झाले भने ।
रिमालको सिर्जनशीलताले राससमा पछिल्लो दशक भाषागत मार्गदर्शन गर्न मियोका रुपमा काम गरेको जनाउँदै उसले भने, “तपाईंको ज्ञान, अनुभवको पाटो राससलाई भविष्यमा पनि आवश्यक पर्नेछ ।”
महाप्रबन्धक सिद्धराज राईले रिमालले राससको विभिन्न सेवामा सक्रिय र इमान्दारीतापूर्वक जिम्मेवारी निर्वाह गरी व्यावसायिकता प्रस्तुत गरेको उल्लेख गरे । उसले रिमालको बौद्धिकता र रचनात्मक कार्यलाई स्मरणीय बनाउन राससका विभिन्न प्रकाशनमा गरेको मेहनत र भूमिकाको सदैव प्रशंसा हुने विश्वास व्यक्त गरे ।
सेवानिवृत्त हुनुभएका रिमालले सामूहिक प्रयासबाटै राससको सेवालाई अहिलेको अवस्थामा पु¥याएको बताउँदै आगामी दिनमा राससको श्रीवृद्धिमा सबैको सक्रिय योगदान रहिरहने विश्वास व्यक्त गरे । तत्कालीन समयमा समाचार सङ्कलन र सम्पादन दौरानका अनुभव र सिकाइ आदानप्रदान गर्दै रिमालले राससलाई प्रविधि र प्राविधिक हिसाबले बलियो बनाउनुपर्नेमा जोड दिए ।
“जिम्मेवारीका दौरानमा कमीकमजोरी सुधार्दै भाषा र पेसागत दक्षता अभिवृद्धिमा ध्यान दिन जरुरी छ । राससले भाषाको नेतृत्व गर्दै मानकका रुपमा स्थापित गर्नुपर्छ”, उसले भने ।
राससका सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले सेवानिवृत्त कर्मचारीका लागि अवकाशका बखत उपलब्ध गराइने आर्थिक स्रोतको जोहो गर्ने विषयमा रासस व्यवस्थापन सक्रिय हुने विश्वास व्यक्त गरे । अर्का सञ्चालक समिति सदस्य डिल्लीराम भट्टराईले राससको आयआर्जन बढाउन र स्रोत व्यवस्थापन गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले नायब महाप्रबन्धक रिमालले राससको भौतिक सम्पत्ति संरक्षण र व्यवस्थापन सुधारका लागि गरेको अनुसन्धान प्रतिवेदनको काम अविस्मरणीय रहने बताए ।
रासस कर्मचारी सङ्घ एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईंले कडा परिश्रम, भाषागत सुधार र दस्तावेजीकरणमा रिमालको योगदान अनुकरणीय रहने उल्लेख गरे ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले संस्थागत क्षमता अभिवृद्धि र भाषाको विकास, प्रवद्र्धनमा रिमालको विशेष योगदान रहेको बताए ।
रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले नायब महाप्रबन्धक रिमालले समाचार लेखन र भाषा सुधारमा राससका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको सुनाए । त्यसअवसरमा विभिन्न सङ्घ संस्थाका तर्फबाट उसलाई सक्रिय दीर्घ जीवनको कामना गर्दै उपहारसमेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्