५ मंसिर २०८१, बुधबार
गण्डकी मनोरन्जन मुख्‍य समाचार समाज

बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै

२५ कात्तिक, दमौली (तनहुँ) । तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आएको छ । व्यास नगरपालिकास्थित तमु सुधार समाजमा आबद्ध उनीहरू लामो समयदेखि पाउदुरे नाच संरक्षण अभियानमा जुटेको हो । समाजमा युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै आएका हुन् ।

पाउदुरे नाचका लागि ख्यामबहादुर गुरुङ र चामबहादुर गुरुङले गुरुबाको भूमिका निभाउँदै आएको छ । त्यस्तै हिरालाल गुरुङ, ओमराज गुरुङले मादलेको भूमिका निभाउ छन ।

युवाहरू शिक्षा, रोजगारीको सिलसिलामा गाउँ बाहिर रहेकाले बुढापाकाले सांस्कृतिक पहिचान बोकेको नाच संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नाच्दै आएका समाजका अध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो । उसले भने, “पाउदुरे नाच लोप हुन नदिन युवा नभएपनि बुढापाका यसको संरक्षण अभियानमा जुटेका छौँ ।” पाउदुरे गुरुङ जातिको लोपोन्मुख नृत्य भएकाले यसको संरक्षण गर्नुपर्छ भनेर आफूहरू लागिपरेको गुरुङको भनाइ छ ।

पछिल्लो पुस्तालाई पाउदुरे नाच सिकाएर यसको संरक्षण र सम्वर्द्धन अभियानमा सहभागी गराउने योजना रहेको ओमबहादुर गुरुङले बताए । उसले भने, “पाउदुरे नाच गुरुङ जातिको प्रसिद्ध नाच भएकाले यसको संरक्षणमा हामीहरू जुटेका छौँ । गाउँमा भएका युवालाई नाच सिकाएर पुस्ता हस्तान्तरण गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छौँ ।”

तमु विद्यार्थी छोंज धिंको शनिबारदेखि दमौलीमा सुरु भएको बाह्रौ महाधिवेशन उद्घाटन समारोहमा उनीहरुको समूहले पाउदुरे नाच प्रस्तुत गरेको थियो । कार्यक्रममा सहभागीले नाच आकर्षित रहेको प्रतिक्रिया दिएका थिए ।

ओमबहादुरका अनुसार पाउदुरे नाचमा बिजबारे, मारुनी, मादले, गुरुलगायत व्यक्ति आवश्यक पर्दछ । “यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने प्रचलन छ । छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भनिन्छ”, उसले भने ।

नाचका क्रममा बिजबारेको भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्ने गुरुङ समुदायका अगुवा बताउँछन् । गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भनिन्छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायत अन्यले पनि गीतलाई छोप्दै लय मिलाउने गर्दछन् । पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन रहेको ओमबहादुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्