२९ कार्तिक २०८१, बिहीबार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

छिल्लीकोटमा जिपलाइन निर्माण पूरा

२५ कात्तिक, तुलसीपुर (दाङ) । जिल्लाको पर्यटकीयस्थल तुुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ ।
उसले आउँदो मङ्सिरभित्रै उक्त जिपलाइन सञ्चालन गर्ने गरी तयारी गरेको बताए । “निर्माण सुरु भएको लामो समय बित्यो, भर्खरै मत्रै पूरा भयो”, उसले भने, “धेरै जनाले छिटो सञ्चालनमा ल्याउनु प¥यो भन्दै आउनुभएको छ, अब मङ्सिर महिनाभित्र सञ्चालनका लागि तयारी गरेका छौँ ।”
दुई वर्ष अघिदेखि निर्माण सुरु भए पनि भौगोलिक विकटताले गर्दा सामान ओसार्न समस्याले निर्माणमा ढिलाइ भएको उसको भनाइ छ । तार तान्न नै एक वर्ष लागेका ढिलाइ भए पनि तत्काल सुरु गर्ने तयारी छ ।
उक्त जिपलाइन एक हजार एक सय मिटर लामो छ भने टेक अफ टावर र ल्यान्डिङ टावर उचाइ एक सय ३० डिग्री एलिभेसनमा छ । करिब रु दुई करोड लागतमा स्थानीय भुल्के सामुदायिक बनको जग्गामा जिपलाइन निर्माण भएको छ । जस वापत प्रत्येक टिकट बिक्रीबाट वनलाई पाँच प्रतिशत र त्यहाँ रहेको कालिका मालिका मन्दिरलार्ई पाँच प्रतिशत दिने सम्झौता भएको छ ।
बीस वर्षका लागि जिपलाइन सञ्चालन गर्ने गरी सम्झौता भएको उसको भनाइ छ । जिपलाइनमा १० जना जतिले रोजगारी पनि पाउने उसको भनाइ छ । छिल्लीकोट दाङको पर्यटकीयस्थल भएकाले त्यसलाई थप आकर्षक बनाउन जिपलाइन निर्माण गरिएको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने उसले बताए । साहसिक खेल मानिने जिपलाइनप्रति आकर्षण बढ्ने भएकाले पनि पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नामबाट उक्त बञ्जिजम्प सञ्चालनमा ल्याइएको हो । सोही ठाउँलाई एडभेन्चरको हबको रुपमा विकास गर्ने गरी आफूहरुले उक्त कार्य गरेको उसले बताए । जहाँ केही समयपछि स्काई साइकलिङ, रकक्लाइम्बिङलगायत थप गर्ने समेत तयारी रहेको उसको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्