जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न सक्दैन : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न नसक्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा वर्गको विचार र चिन्तनको आधारमा देशको भविष्य निर्धारण हुने बताएका हुन् ।
युवाहरु आशावादी र उनीहरुमा परिवर्तनको हुटहुटी भएमात्र देशको भविष्य राम्रो हुने उनको भनाइ छ ।
उनले भने, ‘ जनतालाई जोड्नैपर्दछ । जबसम्म हामीले राज्यसँग जनतालाई जोड्न सक्दैनौं तबसम्म देश बन्न सक्दैन । जबसम्म देशका कर्णधार मानिने युवापंक्तिलाई देशसँग जोड्न सकिएन भने देश अध्यारो बन्ने गर्दछ । युवाहरु भनेका बिहानका झुल्के घामहरु हुन् । बिहानले दिउँसोको संकेत गर्छ भनेजस्तै आजका युवाहरु कस्तो अवस्थामा छन् भन्ने आधारमा मुलुकको भविष्य निर्धारण गर्छन् । आजका युवाहरु आशावादी छन्, उनीहरुमा परिवर्तनको हुटहुटी छ, संकल्प छ भने देशको भविष्य राम्रो छ भनेर विश्वास गर्नुपर्दछ ।’
उनले देशमा अराजकता मच्चिदै गएको उल्लेख गर्दै अराजकता राष्ट्रिय समृद्धिको बाधक भएको बताए ।
‘अहिले मुलुकमा अराजकता बढ्दै गइरहेको छ । कुनैपनि राष्ट्रको निर्माणका सन्दर्भमा कुरा गर्दाखेरि अराजकता राष्ट्रिय समृद्धिको वाधक हो,’उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्