२ मंसिर २०८१, आईतवार
अर्थ जीवनशैली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम

वेदकोट (कञ्चनपुर), २ मङ्सिरः वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गर्नुभएको छ । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो ।

विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन सुरु गरे । माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागे। “सुरुआतमा बुबाले धानखेती हुँदै एक÷दुई पोखरीमा माछा पाल्नुभयो, पछि विस्तार गरेर १० बिघा जमिनमै पोखरी निर्माण गरेर माछापालन विस्तार गरियो”, हरिरामले भने ।

विसं २०७२ मा बुबा चन्द्रलालको निधन भएपछि व्यवसायको बिडो थाम्ने जिम्मा छोरा हरिरामको काँधमा आयो । बुबा जीवित हुँदा शिक्षण पेसासँगै माछापालन सघाइरहेका उनी बुबाको निधनपछि भने शिक्षण पेसा छाडेर पूर्ण रूपमा माछापालनमा सक्रिय भए । माछापालनबाट वार्षिक रु ३० लाख आम्दानी गर्ने गरेको हरिराम सुनाउछन् । “धान, गहुँखेतीभन्दा पनि माछापालनमा राम्रो आन्दानी छ”, उनले भने, “माछाको सङ्ख्याअनुसार आम्दानी हुन्छ । मैले वार्षिक रु ३० लाख लाखसम्म आम्दानी गर्ने गरेको छु ।”

एक माछा एक किलोग्राम तौलको हुनका लागि एकदेखि सवा किलोग्रामसम्म दाना खपत हुने गरेको छ । दश बिघा जमिनमा रहेको पोखरीमा गरिएको माछापालनबाट वार्षिक सात–आठ सय क्विन्टल माछा उत्पादन हुने गरेको हरिराम बताउछन् ।

माछा स्थानीय बजारमै बिक्री गर्ने गरिन्छ । माछाको भुरा र दाना भारतबाट ल्याउने गरेको उनको भनाइ छ । हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिनुभएको छ । नेपालमा गुणस्तरीय भुरा र दाना नपाइने हुनाले महँगो मूल्यमा भारतबाट ल्याउनुपर्ने बाध्यता छ । नेपाली बजारमा आउने भारतीय माछाका कारण पनि समस्या हुने गरेको उनले बताए ।

हरिरामले माछापालनकै आम्दानीले छोराछोरीलाई पढाउन सहयोग मिलेको छ । उनकी छोरी हाल चिकित्सा शिक्षा पढिरहेकी छन् । छोरी भूमिका कोहलपुर मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययरत छिन् । छोरा काठमाडौँमा आर्टिफिसियल इन्टेलिजेसन (एआई) अध्ययन गरिरहेका छन् । “शिक्षण र माछापालनतिरै व्यस्त हुँदा सरकारी जागिरका लागि तयारी गर्नतर्फ लागिएन । तयारी गरेको भए सरकारी जागिरे भइन्थ्यो होला, पछि उमेर पनि पुग्यो । अहिले माछापालनबाट पनि राम्रै भएको छ”, हरिरामले भने, “सरकारी जागिरे नहुँदा पनि केही छैन । माछापालनले सन्तुष्टि दिलाएको छ ।”

प्रतिक्रिया दिनुहोस्