७ मंसिर २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

चुरियामाई मन्दिर नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते

७ मङ्सिर,  हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा आज बिहान करिब ९ः१५ बजे एक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

बिरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा परेका सबै घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौंडा अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेहरू मध्ये बारा कलैया उपमहानगरपालिका–२३ का ३२ वर्षीय सुरेन्द्र शर्मा, भारतीय नागरिक ४१ वर्षीय रन्जन कुमार सिंह लगायत रहेका छन् । विशेषगरी बारा पर्सैनि गाउँपालिका–३ की ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूमा भारतीय तथा नेपाली नागरिकहरू रहेका छन्, जसमध्ये धेरैजसोको अवस्था मध्यम रहेको छ ।

रातोमाटे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी उद्धार कार्य गरेको थियो । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्