७ मंसिर २०८१, शुक्रबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त

जनकपुर । मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् ।

नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएका सर्लाही निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धनको अभियान सञ्चालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्त पत्र प्रदान गरेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णकाअनुसार मधेश प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

यसैअन्तर्गत महत्वाकांक्षी सरकारी कार्यक्रम ‘घुमौँ मधेश, बुझौँ मधेश’ घोषणा गरी संयोजकमा ठाकुरलाई नियुक्त गरिएको कर्णले बताए । ‘मधेश तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइमा छ । हामीलाई विश्वास छ, ठाकुरजीले लगनशील भएर सार्थक परिणामको रूपरेखा कोर्नेछन्,’उनले भने ।

संयोजक ठाकुरले मधेश प्रदेशलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यहाँका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न सक्रिय रूपमा लाग्ने बताए । ‘अहिले हाम्रो सम्मुखमै जनकपुरमा विवाह पञ्चमी छ । बारामा गढीमाई मेला छ । यी पर्वलाई अझै व्यवस्थित र व्यापक प्रचारप्रसार गर्ने काम हुन्छ । समग्र मधेश प्रदेशलाई कसरी पर्यटनमा अगाडि लान सकिन्छ भनेर काम गर्छौं,’उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्