चीनसँग राष्ट्र र जनहितका पक्षमा काम गर्न विप्लव समूहको आग्रह
११ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड सी’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा भएको भेटवार्तामा ओलीलाई उनीहरुले सो आग्रह गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका अनुसार उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए ।
उनीहरुले ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको बिषयमा चीन सरकारसंग सहमति गर्न सुझाब दिंदै राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउनसमेत आग्रह गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले देशको स्थिति जटिल र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नुपर्ने बिषय औल्याएका थिए।
उक्त भेटबार्तामा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ। भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाई नगर्न र तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह समेत गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा ओलीले तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ भएको बताउँदै छिटै टुङ्गोमा पुर्याउने बताएका थिए । उनले चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा थप छलफल गर्ने समेत बताएका थिए। यसैगरी, उक्त भेटवार्तामा दुई पार्टीबीचको छलफल र सहकार्यलाई अघि बढाउने बिषयमा समेत छलफल भएको बताइएको छ।
२०७७ फाल्गुन २१ गते तत्कालिन ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिमा दुवै पक्ष– नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्