समाजवादको सङ्कल्पबाट राज्यको पुनर्संरचना गर्नुपर्छ : पूर्ण बस्नेत
१७ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले समाजवादको सङ्कल्पबाट राज्यको पुनर्संरचना गर्नुपर्ने बताएका छन् ।
विभागका प्रमुख बस्नेतले काङ्ग्रेस कम्युनिष्टको शासनबाट मुलुकलाई जोगाउँनु नै समाजवादीहरुको मुख्य कार्यभार भएको भन्दै यसका लागि समाजवादी सङ्कल्प जरुरी रहेको बताएका हुन् ।
बस्नेतले काङ्ग्रेस कम्युनिष्टले लामो समयदेखि चलाएको शासनले मुलुक धराशायी अवस्थामा पुगेको बताए ।
काङ्ग्रेस कम्युनिष्ट मुलुकमा दीर्घरोगको रुपमा जकडिएर रहेको भन्दै काङ्ग्रेस कम्युनिष्टको शासन मुलुकका लागि अभिशाप बनेको उनको आरोप छ ।
उनले भने, ‘नीतिहरुको नीति राजनीति नेपालको सन्दर्भमा आज सबैभन्दा तुच्छ र घृणित हुन पुगेको छ । सर्वसाधारणले राज्यको उपस्थितिको अनुभूति गर्न पाउने कुनै क्षेत्र छैन । जनताले मुलुकका बारेमा एकै लाइन बोल्ने गरेका छन् ‘यहाँ बस्ने वातावरण छैन । यो मुलुकको तीतो यथार्थ हो ।’
काङ्ग्रेस कम्युनिष्टहरु यो मुलुकमा महिला, दलित, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्र, आदिवासी जनजाती, मधेसीको नाममा संगठित हुने र सबैभन्दा धेरै यिनै समुदाय र वर्गमाथि विभेद, अन्याय र शोषण गर्ने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्