काठमाडौंका सडक ठेक्का एकै प्याकेजमा, कालोपत्रको ‘ल्याब टेस्ट’
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/asd-1-1296x700.jpg)
८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाबाट निर्माण भएका र मर्मत भएका सडक गुणस्तर परीक्षण गर्न ‘कोर कटिङ’ नमुना प्रयोगशाला पठाउन थालिएको छ ।
महानगरका अनुसार यसबाट कालोपत्र गर्न प्रयोग गरिएको बिटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्री मिश्रण मात्रा हेरिन्छ ।
एउटै प्याकेजमा सडक ठेक्का
महानगरका अनुसार मागका आधारमा तत्काल सडक मर्मत सम्भार गर्न महानगरपालिकाले एउटै प्याकेजमा निर्माण पक्ष आह्वान गरेको थियो । यसमा छानिएको गणेश एन्ड गंगा रमिला जेभीसँग २३ फागुन २०८० मा सम्झौता भएको थियो ।
करिब १२ करोड ६५ लाख रुपैयाँ लागत रहेको यो योजना आगामी फागुन मसान्तसम्मका लागि हो ।
यसअन्तर्गत अहिलेसम्म करिब १२ किलोमिटर मार्ग स्तरोन्नति र मर्मत भएको छ । अनुगमन गरिएको वडा नम्बर १५ स्वयम्भू क्षेत्रमा पर्ने आदिकवि मार्ग, स्वयम्भू मार्ग, परिक्रमा मार्ग, सिद्धिचरण मार्ग, बिजेश्वरी उकालो, डल्लु चौताराबाट डल्लु पुल, लखतीर्थ मार्ग, ससुख्वाट मार्ग, सैनिक स्कुल मार्ग र धुम्बाखेल विष्णुमती रोड मर्मत सम्भार प्याकेज अन्तर्गतकै हो । यस वडामा करिब ६ किलोमिटर सडकमा काम भइरहेको छ ।
धुलोरहित सडक एउटै प्याकेजमा
सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यका अनुसार पूर्वाधार सुधार गरेर काठमाडौंलाई धुलोरहित सहर बनाउने महानगरको ‘धुलोरहित सडक’ कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुने बहुवर्षीय योजना हो ।
यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । महानगरको भौगोलिक क्षेत्र चार भागमा विभाजन गरेर हरेकका लागि एउटा प्याकेज बनाइएको छ ।
यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नम्बर ६, ७, ८, ९, १०, ३१, ३२ पर्छन् । यी वडामा काम गर्न करिव ९० करोड रुपैयाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपैयाँ छ ।
कामको जिम्मा वर्ल्डवाइड–कोहिनुर–रमिता जेभीले पाएको छ । निर्माण पक्षसँग १४ असोज २०८१ मा सम्झौता भएको छ । सम्झौता अवधि असार २०८३ सम्म हो । कार्यक्रम अन्तर्गत वडा नम्बर ६, ९ र ३२ मा काम भइरहेको छ । करिब ३ सय मिटर ढलान निर्माण अहिलेको प्रगति रहेको सार्वजनिक निर्माण विभागले जनाएको छ ।
त्यस्तै उत्तर क्षेत्रमा वडा नम्बर १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रको कामका लागि आह्वान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभीले कामको जिम्मा पाएको छ ।
निर्माण पक्षसँग ७ असार २०८१ मा सम्झौता भएको थियो । सम्झौता अवधि असार २०८३ सम्म छ । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ ।
महानगरका अनुसार मध्यक्षेत्रमा भित्री वडाहरू ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा बोलपत्र मार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल–यूएसजी–आरएस लक्ष्मी जेभीले कामको जिम्मा पाएको छ ।
निर्माण पक्षसँग २९ जेठ २०८१ मा सम्झौता भएको थियो । सम्झौता अवधि जेठ २०८४ सम्म छ । यस क्षेत्रमा करिब १ हजार ५ सय मिटर सडक कालोपत्र भएको छ । यस्तै करिब ८ सय ४० वर्गमिटर सडक ढलान गरिएको छ ।
त्यसैगरी पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । यसको खरिद प्रक्रिया टुंगिन बाँकी रहेको सार्वजनिक निर्माण विभाग प्रमुख शाक्यले बताए ।
उनका अनुसार धुलोरहित सडक कार्यक्रम अन्तर्गत कुनै पनि ठाउँ नछाडी सबै सडक कालोपत्र हुन्छ । मर्मत सम्भार कार्यक्रम र पूर्वाधार एम्बुलेन्स कार्यक्रम अन्तर्गत भत्किएको, भासिएको वा बिग्रिएको ठाउँ तत्काल मर्मत गर्ने काम यसमा पर्छ । यसमा पनि सडक कालोपत्र गरिन्छ । तर, यो खण्डखण्डमा मात्र हुन्छ ।
अनुगमन क्रममा धुलोरहित सडक कार्यक्रम अन्तर्गत वडा नम्बर ४ का सडक हेरिएको थियो । यस वडामा ११ वटा मार्ग (४ हजार ४ सय ९१ मिटर) सडकमा काम भइरहेको छ । आनन्दमाया मार्ग, दीपज्योति मार्ग, बराह मार्ग, टुँडालदेवी मार्ग, सरस्वती मार्ग, गीताञ्जली मार्ग, तल्लो टुँडालदेवी मार्ग, शान्तिप्रिय मार्ग, धारा मार्ग, लाम्टाङ मार्ग, ज्ञानज्योति मार्ग यस क्षेत्रमा काम भइरहेका मार्ग हुन् ।
‘सहरलाई धुलोरहित बनाउन महानगरले पूर्वाधार निर्माण गरेपछि यसको उपयोगमा स्थानीयवासीबाट पूरा गर्नुपर्ने दायित्व पनि छन्,’ वडा नम्बर ४ का अध्यक्ष दिनेश महर्जन भन्छन्, ‘घर, पसल वा व्यवसायको भुइँ बढार्दा उत्पादन भएको धुलो सडक र नालीमा फाल्ने आचरणमा सुधार आउनुपर्छ । धुलोरहित कार्यक्रमको दिगो प्रयास यहीँबाट सुरु हुन्छ ।’
यही कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा ७ वटा मार्ग (कान्ति मार्ग, कपन मार्ग, नर्सरी मार्ग, साई मार्ग, गोदावरी मार्ग, धापासी मार्ग, धारापाटी मार्ग) मा काम भइरहेको छ । यसको लम्बाइ २ हजार ५ सय ४४ मिटर छ ।
प्रतिक्रिया दिनुहोस्