३ घण्टा सडक बन्द गरेर फराकिलो पारिँदै नौबिसे-मुग्लिन सडक (तस्वीरहरू)
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/sadk-1296x700.jpg)
८ पुस, काठमाडौं । दैनिक तीन घण्टा सडक बन्द गरेर पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड फराकिलो पार्ने काम धमाधम भइरहेको छ ।
जिल्ला ट्राफिक कार्यालय धादिङका अनुसार ७ पुसदेखि पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्ने काम भइरहेको हो । दिउँसोको पिक आवरमा दैनिक ३ घण्टा सडक बन्द गरेर सडक फराकिलो पार्ने काम हुँदा सास्ती बेहोर्नु परेको गुनासो यात्रुहरूले गरेका छन् ।
सडक फराकिलो पार्न १३ पुससम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ । नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोक्ने गरिएको छ भने मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोक्ने गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोक्ने गरिएको छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोक्ने गरिएको छ ।
तोकिएका स्थानमा रोकिने सवारीसाधनलाई दिउँसो २ बजेपछि मात्रै छोड्ने गरिएको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्