बन्दीपुर भ्रमण वर्षको तयारी, आठ लाख पर्यटक भित्र्याइने
काठमाडौं । बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको निर्णय गरेको जानकारी दिएको हो ।
पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गर्न लागिएको हो ।
भ्रमण वर्षलाई भव्यताका साथ सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी वैश गुरुङकी संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिबालय समेत गठन भइसकेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।
सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको उनले जानकारी दिए ।
उनले भने,‘प्राकृतिक एब सास्कृतिक सम्पदाहरुको संरक्षण एवं विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या वार्षिक दुई लाख पुयाउने उद्देश्यसहित भ्रमण वर्ष आयोजना गरिएको हो ।’
सचिवालय संयोजक गुरुङका अनुसार भ्रमण वर्षभर पर्यटन प्रवद्र्धन गरी पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य लिइएको छ । उनले भने,‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन बर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपूर पुयाउने हाम्रो लक्ष्य छ ।’
गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटक औसतमा दैनिक तीन हजार रुपैयाँ पुरÞ्याइने छ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे साथै समग्र गाउँपालिकामा एक सय २० होटेल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ ।
भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उनको भनाइ छ ।
उनले भने,‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवद्र्धन गरिनेछ भने विद्यमान पर्यटकीय केन्द्र र उपजहरुका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रवद्र्धन गरिनेछ ।’
भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिनेछ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रवद्र्धन गरिनेछ । पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔं गाउँमै रमाऔं’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाले लक्ष्य लिएको छ ।
भ्रमण वर्ष सफल पार्न कूल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट अपेक्षा गरिएको प्रतिबद्धतालाई समेत राखिएको छ । साथै नेपाल सरकारको बन्दीपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्