२६ पुष २०८१, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देश राजनीतिक चक्रभ्यूमा फस्ने खतरा छ, अर्थतन्त्र डामाडोल छ : राजेन्द्र लिङ्देन

सम्पत्ति शुद्धीकरणको मुद्दा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हामीसम्मलाई चलाउनुपर्छ र छानविन गरिनुपर्छ ।
राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिन गर्न माग गर्दै देशका विभिन्न स्थानमा भएका सभाहरुलाई सम्बोधन गरेर काठमाडौं फर्किएका उनी हाल ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीमा छन् । राजतन्त्र पुनर्वाहली, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका माग राख्दै आएको आएको राप्रपाका आगामी योजना, प्रतिपक्षीको भूमिका, सरकारको समीक्षा र सांगठनिक गतिविधिलगायतका विषयमा नेपाल न्यूज बैंकले अध्यक्ष लिङदेनसँग कुराकानी गरेको छ
राष्ट्रिय प्रजातन्त्र पार्टी यतिबेला के गर्दैछ, हाल सम्पन्न भएका खबरदारी सभाको तात्पर्य के हो ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले मुख्य रुपमा संगठनलाई प्राथमिकता दिइरहेको छ । आन्दोलनको लागि संगठन र निर्वाचनका लागि पनि संगठन गरिरहेको छ । जसमा ‘संगठन, संगठन र संगठन’ भन्ने विषयलाई प्राथमिकता दिएर पार्टीले बैशाख मसान्तसम्ममा सबै जिल्लाहरुको अधिवेशन सक्ने कार्ययोजना बनाएको छ । अहिले वडा तहको अधिवेशनहरु भइरहेका छन् । यसैगरी आन्दोलनको तयारी समेत गरिराखेका छौं । हालकै अवस्थामा देश अगाडि बढ्न सक्दैन । त्यसकारणले अहिलेको व्यवस्थाको परिवर्तनको लागि जनदबाव सिर्जना गर्नुपर्छ भन्ने उदेश्य राखेर कार्यक्रमहरु तयार गरिरहेका छौं ।
अहिले हामीले औपचारिक रुपमा सडक आन्दोलनमा आइ नसकेको अवस्था छ । केही ठाउँहरुमा टेस्टको रुपमा गएको चैत २७ गते काठमाडौंमा एउटा प्रर्दशन गर्यौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुको भ्रमण गर्यौं । भर्खरै इटहरीमा जनसभा गर्यौं । यसले जनताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दामा आकर्षित गराएको छ । अहिलेको व्यवस्था र नेतृत्वप्रति व्यापक रुपमा असन्तुष्टि बढेर गएको छ । देश र जनताले विकल्प खोजिरहेको छ भन्ने कुरा देखिएको छ । अब हामी पूर्ण रुपमा सडकमा आइनसकेको अवस्था छ र आइसकेपछि यसले व्यापक आकार लिन्छ भन्ने मलाई लागेको छ ।
सरकार गठन प्रक्रियाको प्रारम्भमा हामीले दुईवटा ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउँदाखेरी अलिकती अप्रत्यासित र अचम्मजस्तो लागेको थियो । सरकार निर्माणको क्रममा सात बुँदे कार्ययोजना प्रस्तुत गरिएको थियो । सरकार निर्माणाधीन पक्षधरका पार्टीहरुले जसरी व्याख्या गरिरहनु भएको थियो त्यसमा संविधान संशोधन गर्नुपर्ने कुरा प्रमुख थियो । यतिबेला स्थिर सरकार मुलुकलाई चाहिएको छ । त्यसका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने भयो जस्ता अस्वभाविक कुराहरु प्रस्तुत भएका थिए । तरपनि यस्तोबेला देशले स्थिरता प्राप्त गर्छ भने हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ भनेर भनेका थियौं । तर हालसम्मको अवस्था हेर्दा वा सरकारले आधा वर्ष बिताइसक्दा त्यो सबै भन्नका लागि मात्र भनिएको रहेछ भन्ने स्पष्ट हुँदै गएको छ । अहिलेको सरकार विगतमा भएका भष्ट्राचारको कारवाहीबाट कसरी बच्न सकिन्छ र सत्तामै बसेर आफ्नो जीवनको अन्तिम क्षण कसरी बिताउन सकिन्छ भन्ने हिसावले गठबन्धन गरिएको रहेछ । देशलाई केन्द्रमा राखेर गठबन्धन बनाएको होइन रहेछ भन्ने कुरा प्रस्ट नै देखिएको छ । सरकार पूर्ण रुपले असफल भएको छ । आन्तरिक र बाह्य दुवै हिसावले हेर्दा पनि सरकार असफल भएको छ ।
विदेशसँगको सम्बन्धका मामिलामा पनि असफल सावित भएको छ । सरकारको केटाकेटीपन साथै आलोकाँचो व्यवहारले गर्दा देश राजनीतिको चक्रभ्यूमा फस्ने खतरा बढेको छ । देशको अर्थतन्त्र इतिहासकै एउटा खतराको अवस्थामा पुगेको छ । सरकार पक्षले भन्नेबेला त अहिले विदेशी मुद्राको सञ्चितीको अवस्था राम्रो छ, बैंकमा प्रशस्त पैसा छ भनेपनि अवस्था नाजुक भइसकेको छ । रेमिट्यान्स आइराखेको भनेको कुनै व्यापार गरेर नेपालले आर्जन गरेको पैसा होइन । त्यो हाम्रो वैदेशिक रोजगारीबाट आएको पैसा हो । त्यो पैसालाई पनि ठिक ठाउँमा खर्च गर्न नसकेर संचिति बढीराखेको हो ।
बैंकमा पैसा छ तर किन लगानी हुन सकेको छैन् ? बैंकमा पैसा भएर पनि ऋण लिन किन मानिसहरुले मानिरहेको छैनन् ? उद्योगी व्यापारीहरु किन निराश छ भन्ने कुरा स्पष्ट छ । यस्तो एकदमै भयानक अवस्था हो । किनभने अहिले व्याजदर पनि एक अंकतिर झरिसकेको छ, तर पनि किन ऋण लिइँदैन वा लगानी गरिदैन ? यो सकारात्मक सूचक होइन् । खतराको सूचक हो । त्यसैले अर्थतन्त्र हिसाबले पनि देश भयानक खतरातर्फ छ । राजनीतिक हिसाबले भनिराख्नै पर्दैन् । देश अहिले दुई दलीय सिन्डिकेटको सिकार बनेको छ । राज्यको सबै संयन्त्रमा दुई दलले कब्जा जमाउने एक प्रकारले बहुदलीय व्यवस्थाले समाप्त गर्ने बाटोतिर वर्तमान सरकार लागेको छ । कुनै पनि कुराले जनताले चित्त बुझाउने बाटो छैन् ।
शुसासनको अवस्था ल्याउन र घटनामाथि अनुसन्धान गरेर भ्रष्टाचारीहरुलाई कानुनी कठघरामा ल्याउने प्रयास त सरकारले गरिरहेको छ, होइन र ?
कसैलाई पनि अनुसन्धान गरिनु कारबाही गर्नुलाइ अनुचित भन्नु भन्दा पनि यसप्रकारको अनुसन्धान र कारबाही सबैलाई समान हुनुपर्छ भन्ने राप्रपाको निरन्तर धारणा हो । अहिले देखिदा आफ्ना मान्छेलाई उन्मुक्ति दिने र भेटेसम्म विपक्षहरुलाई कसेर ल्याउने जुन किसिमको सरकारको व्यवहार देखिरेको छ, त्यसमा हामीले अगाडि नै भनिसकेका छौं । अब पनि भन्छौं यस्तो अनुसन्धान सबैमाथि हुनुपर्छ । त्यसमाथि पनि अहिले सम्पत्ति शुद्धिकरणको कुरा छ । एकजना पार्टी अध्यक्ष(रास्वपा सभापति रवि लामिछाने)माथि पहिलो पटक यो सम्पत्ति शुद्धिकरणको मुद्दा चलाइयो । सार्वजनिक रुपमा भनेको छु । यो सम्पत्ति शुद्धिकरणको हतियार धापबाट एउटा राजनीतिक नेतामाथि पहिलो चोटी झिकियो । तर यो बिसाउन हुँदैन् र मिल्दैन । सम्पत्ति शुद्धिकरणको मुद्दा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हामीसम्मलाई पनि चलाउनुपर्छ । र छानविन गरिनुपर्छ । हाम्रो सम्पतिको स्रोत के हो ?कसैको धेरै होला कसैको थोरै होला तर स्रोत के हो, त्यसको सबैले पुष्टि गर्ने एउटा वातावरण बनाउनुपर्छ । त्यसपछि मात्रै यो तरबार धापमा राख्नुपर्छ भनेको छु ।
त्यो छानविन प्रधानमन्त्रीबाट सुरु हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसमा पनि अप्ठ्यारो लाग्छ भने राजेन्द्र लिङ्देनबाट सुरु गरेपनि हुन्छ । तर गर्नुप¥यो । रबि लामिछानेलाई मात्र गरेर पुग्दैन् । उनी दोषि वा निर्दोष अदालतको छानबीन प्रकृयामा छ । त्यसलाई इमान्दारितापूर्वक र निष्पक्षतापूर्वक टुंग्गो लगाउनुपर्छ । तर त्यस्तै अरु मानिस पनि छन् । अरुको पनि छानविन हुनुपर्छ ।
गठबन्धन सरकारले संविधान संशोधनको मुद्दालाई प्राथमिकता दिएको छ । राप्रपाको चाहीं संविधान संशोधनका लागि मुल मुद्दाहरु के हुन् ?
राप्रपाले प्रष्ट रुपमा नै यो संविधानको विकल्पको रुपमा आफ्ना मान्यताहरु अगाडि बढाएको छ । देश पछाडि फर्कन पनि सक्दैन् तर हालकै अवस्थामा पनि बसिराख्न पनि सक्दैन् । त्यसकारण नयाँ सक्झौता गरेर देश अगाडि जानुपर्छ । त्यसको लागि अभिभावकीय संस्थाको रुपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक छ । देशलाई एउटा प्रत्यक्ष निर्वाचन क्षेत्र बनाएर संसदको निर्वचन पूर्ण समानुपातिक बनाउनुपर्छ । सांसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नैपर्छ । सांसदहरु कानुन निर्माताको रुपमा मात्र रहने व्यवस्था हुनुपर्छ । यत्रो ठूलो संख्यामा जनप्रतिनिधिहरु देशले व्यहोर्न सक्दैन् । त्यसैले जनप्रतिनिधिको संख्या सबै तहमा व्यापक रुपमा कटौती हुनुपर्छ । राज्य संरचनाको हिसाबले दुई तहका मात्रै सरकार हुनुपर्छ । केन्द्र र बलियो स्थानी तह भए पुग्छ । शिक्ष, स्वास्थ्य पूर्ण रुपमा निशुल्क हुने व्यवस्था हुनुपर्छ र सबै संवैधानिक अंगहरुमा नियुक्ति दलीय भागबन्डाको आधारमा नभइ योग्यता, दक्षताको आधारमा नियुक्ति हुने व्यवस्था हुनुपर्छ । त्यस कारण मात्र देश नयाँ बाटोमा जान्छ ।
पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवसको तयारी के छ, ठूला दलहरु एकता दिवस मनाउन किन कन्चुस्याँइ गरिरहेका छन् ?
राष्ट्रिय प्रजातन्त्री पार्टीले पृथ्वीनारायण शाहलाई आफ्नो आदर्श पुरुषको रुपमा स्विकार गरेको छ । पृथ्वीनारायण शाह नेपाल एकीकरणकर्ता, नेपालका निर्माता र जसले हामीलाई नेपाली नाम र पहिचान दिनुभयो उहाँलाई सम्मान गर्नु हामी सबैको कर्तव्य हो । त्यसकारण राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । राप्रपा विगतमा सरकारमा हुँदा यसलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गर्न सफल भयो । औपचारिक रुपमा सरकारी तवरमै यसलाई राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरिएको छ ।
सरकारले यो दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरेपनि औपचारिक कार्यक्रमहरु नगरेको अवस्थामा राप्रपाले देशभर, सबै जिल्ला र स्थानीय तहमा समेत उत्सवको रुपमा मनाउने कार्यक्रमहरु राखेका छौ । र काठमाडौंको भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गरेका छौ । त्यो भन्दा अगाडि महेन्द्र शालिक दरबारमार्गबाट पृथ्वी शालिकसम्मको ¥यालीको पनि आयोजना गरेका छौ । सम्पूर्ण देशबासीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा हर्षका साथ मनाउन र सरकारलाई पनि आग्रह गर्न चहान्छु ।
तर पृथ्वी जयन्ती सरकारको प्राथमिकतामा त भएकोजस्तो लाग्दैन् ।
हामीले यो दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन कुनै हिनताबोध गर्नु हुदैँन् । सरकारले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्ने निर्णय गरोस र सरकारी तवरबाट पनि यो दिनलाई हर्षका साथ मनाइयोस् ।
पृथ्वीनारायणले नेपाललाई अविभाजिय र सवल राष्ट्रको रुपमा कसरी चलाउन सकिन्छ, कसरी बचाई राख्न सकिन्छ भन्ने नीति समेत दिएर जानुभयो । त्यो समयको पृथ्वीनारायणको उपदेशलाई मात्र नेपालका राजनीतिक दलहरुले पालना गर्ने र सरकारमा बस्नेहरुले इमान्दारिताका साथ लागू गर्ने हो भने नेपाल कसरी निर्माण गर्ने, उद्योग कसरी विकास गर्ने, रोजगारी कसरी सिर्जना गर्ने र देशलाई वैदेशिक हस्तक्षपबाट कसरी जोगाउने भन्ने कुरा सिक्नको लागि कुनै विश्वविद्यालय जानु पर्दैन् । त्यसकारण उहाँलाई सम्मान गर्नु हामी सबैको कर्तव्य हो ।
त्यसैले पुष २७ गते १० बजे दरबारमार्गमा भेला हुन आग्रह गर्न चाहन्छु । व्यक्तिगत रुपमा राजनीतिक दलहरुले कतै पनि असहमति व्यक्त गरेको मंैले पाउदिन् । तर जसलाई नेपाली हुनुमा गौरव छैन्, हिनताबोध छ भने त्यस्तो मानिस वा नेताहरुले औपचारिक रुपमा बाहिर आएर वा देखिएर पृथ्वी जयन्ती मनाउन लाज मान्छन् । तर भित्र भेट्दा त्यस्तो कुनै तर्क छैन् । मैले राष्ट्रिय एकता दिवसको प्रस्ताव लिएर जादाँ पनि सरकारमा भएका कुनै पनि राजनीतिक दलको असहमति भने थिएन् ।

 

प्रतिक्रिया दिनुहोस्