२६ पुष २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

ज्योतिष विधालाई व्यवस्थित बनाउन राज्यले अलग्गै निकाय निर्माण गर्नुपर्ने

काठमाडौं । ज्योतिष क्षेत्रलाई विश्वसनीय र सर्वव्यापी बनाउन राज्यले अलग्गै परिचय पत्रको व्यवस्था गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । नेपाल ज्योतिष परिषदको २७ औं वार्षिकोत्सव समारोहका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ज्योतिष शास्त्र वा पेशालाई राज्यले विशेष परिचय पत्रको व्यवस्था गर्नुपर्ने आवाज उठेको हो ।
पशुपतिनाथ मन्दिरका मुलभट्ट रावल गणेश भट्टले सनातनहरुको महत्वपूर्ण अंगका रुपमा मानिएको ज्योतिष क्षेत्रलाई विश्वसनीय बनाउन राज्यले विशेष व्यवस्था गर्न सुझाव दिए । उनले अल्पज्ञान र मर्मलाई ख्याल नगर्दा ज्योतिष क्षेत्र अविश्वसनीय बन्ने खतरा रहेको औंल्याउँदै ज्योतिष क्षेत्रलाई विश्वव्यापी मानव हित र कल्याणमा समर्पित गर्नुपर्ने बताए । उनले भने,‘ज्योतिषको अत्याध्यम पाटो मानव जीवनका हरेक शुभकार्यमा आवश्यक छ । यसमा पंचागको विशष महत्व छ त्यसैले यसको व्यवस्थापनमा सबैले सोच्नुपर्छ ।’
वाल्मिकी क्याम्पसका प्राचार्य भागवत ढकालले ज्योतिष क्षेत्रलाई व्यवस्थित गर्न राज्यले राष्ट्रिय काउन्सिल नै बनाएर काम गर्न सुझाव दिए । उनले हरेक ज्योतिषको योग्यता मापन गर्न राज्यको मान्यतप्राप्त अंगले निकाय खडा गरेर प्रमाणीत गर्नुपर्ने औंल्याए ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले ज्योतिष क्षेत्रलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । समितिकै कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सक्षम ज्योतिष उत्पादनका लागि प्रशिक्षण आवश्यक भएको बताए । अन्तरर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिक सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले ज्योतिष विज्ञानलाई विश्वसनीय र मानव हितका लागि उपयोग गर्न राज्यले विशेष ख्याल गर्र्नुपर्ने बताए ।
कार्यक्रममा ज्योतिर्विद डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र को विमोचन समेत गरिएको । सोही अवसरमा नेपाल न्यूज बैंकका समाचार सम्पादक युवराज गौतमसहित विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान समेत गरियो । सम्मानित हुनेहरुमा प्राडा धनेश्वर नेपाल, डा.दण्डपाणी अर्याल, लेखनाथ न्यौपाने, दामोदर जोशी, सुर्य अर्याल लगायत छन् । नेपाल ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष केशवप्रसाद धितालको अध्यक्षतामा भएको समारोहमा महासचिव विश्वप्रकाश लामिछानेले संस्थाको प्रगति विवरण प्रश्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्