२६ पुष २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रामेछाप नगरपालिकाको न्यून वित्तीय योजना सम्झौता भइरहेकाले प्रगति नदेखिएको स्पष्टोक्ति

२६ पुस, रामेछाप । रामेछाप नगरपालिकाको चालु आर्थिक वर्षको पहिलो ६ महिना वित्तीय प्रगति अति न्यून देखिएको छ ।

नगरपालिकाले आर्थिक वर्षको पहिलो ६ महिनामा विकास बजेटको ५ प्रतिशत रकम मात्र खर्च गरेको छ । यस आर्थिक वर्षको लागि नगरपालिकाले २५ करोड २१ लाख ६५ हजार रुपैँया विनियोजन गरेकोमा हालसम्म १ करोड २७ लाखमा १ हजार रुपैँया मात्र खर्च भएको छ ।

नगरपालिकाको १६ औँ नगर सभापछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका प्रवक्ता समीर कार्कीले दिएको जानकारी अनुसार नगरपालिकाले यस वर्ष चालु तर्फ ५१ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ । चालु तर्फ भने २५ प्रतिशत बजेट खर्च भएको छ ।

सभाले रामेछाप नगरपालिकाको विनियोजन ऐन २८१ लाई संशोधन गर्ने सम्बन्धमा बनेको विनियोजन विधेयक पनि स्वीकृत गरेको छ । योसँगै अघिल्लो नगर सभाले बनाएका कतिपय योजनाको रकमान्तर भएको छ ।

सभाले नयाँ शैक्षिक सत्र सुरु हुनु अघि नै विद्यालयको पुनःसंरचना र शिक्षक दर्बन्दि पुनरावलोकन गर्ने निर्णय गरेको छ । बालमैत्री स्थानीय शासन र पोषणमैत्री स्थानीय शासनलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय पनि सभाले गरेको छ ।

त्यस्त,ै रामेछाप नगरपालिकाको प्रमुख सडकको रूपमा रहेको सेलेघाट–रामेछाप–साँघुटार सडक स्तरोन्नति कार्यलाई यथाशीघ्र सम्पन्न गर्न निर्माण व्यवसायी र सम्बन्धित निकायमा पहल गर्ने निर्णय सभाले गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले पहिलो ६ महिना योजना सम्झौता र काम थालनी गर्ने समय भएको बताउँदै अब योजनाको भुक्तानी दिन थालेपछि वित्तीय प्रगति देखिने बताए ।

कार्यक्रममा नगरपालिका प्रमुख लबश्री न्यौपानेले दीर्घकालिक लाभ दिने खालका नगरपालिकाका गौरवका आयोजनामा काम सुरु गरिएको जानकारी दिए । नगरपालिकाका हरेक वडामा एक एकवटा गौरवका योजना सुरु गर्ने योजना अनुसार काम सुरु भएको उनले बताए ।

नगरपालिकाले प्रत्येक किसानले लाभ पाउने खालका कृषि र पशुका कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै न्यौपानेले स्थानीय सरकारले नागरिकले महसुस गर्ने गरी काम गरिरहेको बताए । आर्थिक विकास नभई अन्य विकासका काम अघि नबढ्ने भएकोले नागरिकको आर्थिक विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्