‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन
काठमाडौँ, २६ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
सिनामङ्गलस्थित विभागमा आज आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रममा उनले ‘आला कार्ट’ मूल्य प्रणालीबारे स्वदेशी तथा विदेशी च्यानलहरूको चासो बढेको भन्दै जतिसक्दो चाडो समस्या समाधान गर्न आग्रह गरेका हुन् । सचिव अर्यालले समस्या समाधानका लागि विभागका महानिर्देशक र सहसचिवको समिति बनाउन निर्देशन दिए । “यस्ता विषयलाई सधैँभरि अनिर्णयको अवस्थामा राखिरहनु हुँदैन । कुन तहको समिति बनाएर समाधान गर्न सकिन्छ, त्यसबारे सोचौँ । विभागका महानिर्देशक वा सहसचिव बसेर भए पनि यो विषयलाई टुङ्गोमा पुर्याउनुपर्छ”, उनले भने ।
सचिव अर्यालले विभागलाई अनुगमनका कार्यक्रम थप प्रभावकारी बनाउन अनुरोध गर्दै विभागले तय गरेका वार्षिक कार्यक्रम तोकिएको समयमै पूरा गर्न, सम्बन्धित ऐन, निर्देशिका, कार्यविधि समसामयिक बनाउन सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्