२ माघ २०८१, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन

२ माघ, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक शिक्षा (दशजोड दुई) पश्चात् स्वारोजगार बनाउने ध्येयले नगरपालिकाले पहिलोपटक चन्द्रागिरि–१२ स्थित बलम्बु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्राविधिक शिक्षालयमार्फत सीप सिकाउन थालेको हो ।

यसका लागि नगरपालिकाले दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेसनसँगको सहकार्यमा सो विद्यालय परिसरमा शिक्षालय भवनसहित अत्याधुनिक चारवटा प्रयोगशाला निर्माण गरेको छ । दुईतले भवन एवं प्रयोगशालका लागि रु दुई करोड ५० लाख खर्च भएको जनाइएको छ । शिक्षालयमा अब प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) अन्तर्गतको पाठ्यक्रममा आधारित ब्यूटिसियन, इलेक्ट्रिसियन, मोटरसाइकल तथा मोबाइल मर्मत विधामा सीप विद्यार्थीलाई अतिरिक्त समयमा सिकाइने छ ।

माध्यामिक शिक्षा परीक्षामा (एसइई)मा शतप्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउँदै आएको अब्बल सो सामुदायिक विद्यालयमा साधारणतर्फ कक्षा ९ देखि १२ अध्ययन गरिराखेका विद्यार्थीले आफू रुचिको ती विधामध्ये एक विधामा सीप सिक्नेछन् । अतिरिक्त समयमा उनीहरूले सिक्ने सो सीप स्नातक तह बराबरको हुनेछ ।

कक्षा १२ उत्तीर्ण हुँदा विद्यार्थीले आफूले रोजेका विधामा प्राविधिक सीपको प्रमाणपत्र पनि लिएर निस्कने छन् । यसबाट विद्यालयमै विद्यार्थीलाई आत्मनिर्भर तथा रोजगार बनाउन सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मङ्गलबार ‘बहुप्राविधिक शिक्षालय’को शुभारम्भ गर्दै सामुदायिक विद्यालयमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने नगरपालिकाको नीतिको प्रशंसा गर्दै यो नीति सङ्घीय सरकारका लागि पनि सिकाइ हुनसक्छ भने ।

नगरप्रमुख घनश्याम गिरीले भने, “विद्यालयमै विद्यार्थीलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने नीति नगरपालिकाको हो, यसका लागि नै नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । यो पहिलो शिक्षालयको सिकाइका आधारमा अन्य विद्यालयमा यो कार्यक्रम कार्यान्वयनमा ल्याउँछौँ । विद्यालय शिक्षापछि जीविकोपार्जन गर्न विदेश जानु नपरोस् भन्ने नै हाम्रो ध्येय हो ।

उसका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयमा ९० घण्टा बराबरको प्राविधिक शिक्षा कार्यक्रम कार्यान्वयन भइराखेको, स्मार्ट बोर्डमार्फत पठनपाठन भइराखेको, विद्यालयका लागि बसको व्यवस्था गरिएको छ । नगरप्रमुख गिरीले भनछन्, “नगरक्षेत्रका सबै सामुदायिक विद्यालयका भौतिक पूर्वाधारको काम सम्पन्न भएका छन्, अब शैक्षिक गुणस्तरलाई अझ उत्कृष्ट बनाउँदै विद्यार्थी प्राविधिक सीप पनि सिकाउने काममा लागेका छौँ ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भनछन्, “जीवनोपयोगी शिक्षा, गुणस्तरीय पठनपाठन र प्राविधिक सीपमार्फत स्वदेशमै युवालाई स्वरोजगार बनाउने प्रयासमा लागेका छौँ । अर्धदक्ष सीप बेच्न विदेश जानुपर्ने अवस्थालाई घटाउन लागेका छौँ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई अझ माथि उठाउन नगरपालिकाले आवश्यक पक्षमा ध्यान दिएको छ । यसमा नै हाम्रा शैक्षिक नीतिनियम केन्द्रित छन् ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सुजनराज खनालले विद्यार्थीलाई विद्यालय शिक्षासँगै प्राविधिक शिक्षाको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हुँदा स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरछन् । बलम्बु माविका प्रधानाध्यापक सुमन रावतले भनछन्, “कक्षा ९ देखि प्राविधिक शिक्षा पढ्न थालेका विद्यार्थीले कक्षा १२ कक्षा पास गर्दा एक हातमा शैक्षिक प्रमाणपत्र अर्को हातमा प्राविधिक शिक्षाको, रोजगार बनाउने हाम्रो उद्देश्य हो । ड्रिम सेयरिङ फाउन्डेसन कोरियाका अध्यक्ष सी विनले अगामी दिनमा नेपालको सामुदायिक विद्यालयमा नै प्राविधिक शिक्षाको आवश्यकता रहेको हुँदा यस क्षेत्रमा फाउन्डेसनको सहयोग जारी राख्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्