गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने
इजरायल र हमासबीच गाजामा युद्धविरामको निर्णयले त्यहाँ खुशीयाली छाएको छ । इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएसँगै मानिसहरु सडकमा उत्रिएर खुशी मनाइरहेका छन् ।
कतारमा इजरायल र हमासबीच युद्धविरामको सहमति भएसँगै बन्धक रिहाइको प्रक्रिया थालिने जनाइएको छ । जसका कारण इजरायली शहरहरु र गाजामा खुसीयाली छाएको छ।
कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा जारी संयुक्त वक्तव्यमा गाजा युद्धविराम–बन्धकहरूका लागि सम्झौतामा तीन चरणमा पूर्ण रुपमा लागु हुने भनिएको छ । गाजा स्ट्रिपमा सम्झौतामा तोकिए बमोजिम मानवीय सहायतालाई द्रुत र निरन्तर वृद्धि गर्न संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गर्ने जनाइएको छ । यस्तो प्रयासलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने जनाएका छन् ।
सम्झौतामा प्रारम्भिक ४५ दिनको समयसीमा राखिएको छ । युद्ध रोकिने र इजरायली सेना गाजाको बाहिरी इलाकामा जनसंख्या भएको क्षेत्रबाट फिर्ता हुने, विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीमा आफ्नो निवासमा फर्कन अनुमति दिने जनाइएको छ ।
सम्झौतासँगै १५ महिनादेखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको छ। अमेरिकाको बाहिरँदै गरेको जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो।
प्रतिक्रिया दिनुहोस्