Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सिद्धबाबामा ‘लघु सङ्ग्रहालय’ स्थापना

रासस
3 महिना अघि

तम्घास गुल्मी, १३ माघ । जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने उद्देश्यले लघु सङ्ग्रहालय स्थापना गरेको हो । विद्यार्थीलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामग्रीको जानकारी दिने र प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।
विद्यालयमा व्यवस्थित रूपमा माना, पाथी, टुकी, बत्ती, ठेका, मदानी, डोको, नाम्लो, डाला, फुगो, तराजु, ढक, कुचोलगायत प्राचीन सामग्री राखिएका छन् । त्यसैगरी गुन्द्रो, लालटिन, आरी, हाँडी, मटुलो, प्राचीन पैसाहरु, खुकुरी, सिलौटो, लोहोरो, मादललगायत दुई दर्जनभन्दा बढी प्राचीन सम्भयता झल्काउने सामग्री राखिएको विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्यालले जानकारी दिए।
“पछिल्लो समय घरमा कम प्रयोगमा आउने सामग्रीहरू यहाँ सङ्ग्रहालयका रूपमा राखेका छौँ”, उनले भने, “कम लागतमा बढी जानकारी दिने हाम्रो उद्देश्य छ ।” अझै पनि यस्ता सामग्री सङ्कलन गर्ने कार्य जारी रहेको उनको भनाइ छ ।
विद्यालयमा सङ्ग्रहालय स्थापना भएपछि विद्यार्थी पनि उत्साहित भएका छन् । “विद्यालयले स्थापना गरेको सङ्ग्रहालयबाट हामीले प्राचीन समयमा प्रयोग हुने सामग्रीका बारेमा सिक्न पाएका छौँ”, कक्षा १२ मा अध्ययनरत प्रदीप भुसालले भने, “किताबमा पढेका कुराहरूलाई प्रयोगात्मक रूपमा सिक्न सङ्ग्रहालय सहयोगी बनेको छ ।” उनले सङ्ग्रहालयमा गएपछि नयाँनयाँ सोच आउने र पढाइप्रति ध्यान केन्द्रित हुने बताए । शिक्षकले विद्यार्थीलाई प्राचीन सामग्रीका बारेमा जानकारी दिने गछ ।
प्राचीन समयमा मानव जीवन सञ्चालनका लागि धेरै प्रयोगमा आउने तर हाल विभिन्न प्रविधिले प्रयोगमा नआएका सामग्रीलाई विद्यालयले सङ्ग्रहालयका रूपमा संरक्षण गरेको प्रधानाध्यापक डोरविक्रम श्रीसले बताए ।
“किताबी ज्ञान औपचारिक शिक्षा मात्रै हो, विद्यार्थीलाई व्यावहारिक ज्ञानबारे पनि जानकारी गराउनुपर्छ”, उनले भने, “त्यसैको प्रयासस्वरुप सङ्ग्रहालय स्थापना गरिएको हो ।” सङ्ग्रहालयबाट विद्यार्थीलाई नेपाली समाजको कला संस्कृति, पुर्खाहरूले गरेका कामलगायत विषयमा जानकारी दिन खोजिएको श्रीसले बताए ।
अधिकांश सामग्री स्थानीय समुदायबाट सङ्कलन गरिएको भन्दै केही अन्य स्थानमा पनि ल्याइएको प्रअ श्रीसले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालयबाट विद्यार्थीलाई पुराना वस्तु र प्रविधिसँग पनि परिचित गराउने लक्ष्य राखिएको छ । सङ्ग्रहालय स्थापनाका लागि डोका, डालालगायत वस्तुहरू निःशुल्क रूपमा सङ्कलन गरिएको बताउँदै तामाका सामग्री खरिद गरिएको विद्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया