नेपाली पत्रकारिताका ‘शिखर पुरुष’ राजेश्वर नेपालीको निधन
११ भदौ, धनुषा। प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।
नेपालीको आज बेलुका ८:१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए ।
नेपाल प्रेस युनियन, धनुषाका अध्यक्ष राजनकुमार सिंहले भने, ‘उहाँ यस क्षेत्रको शिखर पुरुष नै हुनुहुन्थ्यो, उहाँको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।’
विगत १४ महिनादेखि बिरामी परेका नेपाली गत असोज १२ गतेदेखि ओछ्यान परेका थिए । यसअघि उनलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
आफ्नो जन्मदिनभन्दा सात दिनअघिको तिथिमा नेपालीको निधन भएको हो । जनकपुरधाम उपमहानगरपालिका-२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते उनको जन्म भएको थियो ।
मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवन सुरुवात गरेका थिए । उनले विसं २०१५ मा जानकी नौवमी कविता लेखेर र वाचन गरेर साहित्य लेखन सुरु गरेका थिए ।
त्यसपछि उनले देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखनमार्फत आवाज उठाउँदै आएका थिए ।
वरिष्ठ पत्रकार नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुवात गरेका थिए ।
नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो । नेताद्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर नेपालीले पत्रकारिताको सुरुवात गरेका थिए ।
उनी पछिल्लो लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनको विभिन्न आन्दोलनमा प्रहरीको लाठी चार्जबाट खाएको चोटले मेरुदण्डको हाडसमेत त्यतिबेला भाँचिएको थियो ।
प्रतिक्रिया दिनुहोस्