अध्यादेशका विषयमा सांसदहरु पक्ष र विपक्षमा
१८ माघ, काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रतालाई निषेध गर्न खोजेको बताएका छन् ।
शुक्रबार संसदबाहिर बोल्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्नको लागि कानूनी जरुरी भएपनि नियन्त्रण गर्ने कुरा भने गलत भएको बताए ।
उनले भने, ‘सामाजिक सञ्जाललाई नियमन गर्नको लागि भनेर राष्ट्रिय सभामा सरकारले जे विधेयक दर्ता गरेको छ त्यो विधेयकको विपक्षमा प्रष्ट रुपमा मैले बोलिसकेको छु, बोल्छु । सामाजिक सञ्जाललाई नियमन गर्नको लागि कानूनी प्रबन्ध जरुरी छ, नियमन गर्ने कुरा सहि हो तर नियन्त्रण गर्ने तरिकाबाट आउने कुरा गलत हो । त्यसैले अहिले आएको विधेयकले प्रेसको स्वतन्त्रतालाई पनि निषेध गर्न खोजेको छ ।’
यसको साथै, उनले अध्यादेश भन्ने वित्तिकै गलत हुने र विधेयक भन्ने वित्तिकै सहि नै हो भनि हाल्न नपर्ने भन्दै अहिले आएको अध्यादेश गलत नभएको बताए ।
उनले भने, ‘अध्यादेश हो भन्ने वित्तिकै गलत हुदैँन् । विधेयक हो भन्ने वित्तिकै त्यो सहि नै हो भनि हाल्नु पर्छ भन्ने पनि हुदैँन् । विगतमा नेपाली काङ्ग्रेसले अध्यादेशलाई विरोध गरेको उदाहरण पनि छ र विपक्षमा रहेको बेला सरकारले ल्याएको अध्यादेशलाई सहज तरिकाले पारित हुनलाई सघाएको पनि छ ।’
यस्तै, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने मिडिया वा वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न सरकाले कानून ल्याएको कुरा गलत भएको भन्दै नियमन गर्नको लागि विधेयक आएको उल्लेख गरे ।
उनले भने, ‘मिडिया वा वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न सरकाले कानून ल्याउदैँछ भन्ने जसरी प्रचार गरिरहनु भएको छ यो कुरा मिलेको छैन् । सरकारले वाक स्वतन्त्रतालाई वा मिडियालाई नियन्त्रण गर्नको लागि होईन नियमन गर्नको लागि विधेयकहरुको बारेमा छलफल चलाएको छ ।’
सोही क्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अधिवेशनमा विभिन्न कानूनहरु निर्माण गर्ने कुरामा मौलिक अधिकारहरु र जनताका बोल्ने अधिकारहरुलाई बन्देज गर्ने खालका कतिपय अध्यादेशहरु आएको भन्दै त्यसको विरोध गर्ने बताए ।
उनले भने, ‘अहिले यो अधिवेशनमा विभिन्न कानूनहरु निर्माण गर्ने कुरामा मौलिक अधिकारहरु, जनताका बोल्ने अधिकारहरुलाई बन्देज गर्ने खालका कतिपय अध्यादेशहरु आएका छन् । त्यसको हामी विरोध गर्ने छौ ।’
यसको साथै, उनले अध्यादेशमा रहेका राम्रा कुराहरुलाई समर्थन गर्ने र कुशासनका कुराहरुको विरोध गर्ने पनि बताए ।
उनले भने, ‘अध्यादेशको बारेमा हामी डराएका छैनौ । अध्यादेशमा रहेका राम्रा कुराहरुको लागि सुशासन र आर्थिक वृद्धिका लागि ल्याएका राम्रा कुराहरुको हामी समर्थन गर्ने छौ तर कुशासनका कुराहरु त्यहाँ छन् ती कुराहरुको हामी विरोध गर्ने छौ ।’
प्रतिक्रिया दिनुहोस्