२० माघ २०८१, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानी वितरण गर्छु : मन्त्री यादव

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै निस्शुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने बताएका छन् ।
आज वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कूलको १६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा निस्शुल्क रूपमा खानेपानीका धारा वितरण र जडानका लागि गृहकार्य भइरहेको बताए ।

उनले भने, “चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा हामी निस्शुल्क खानेपानीका धारा जडान तथा वितरण गर्दैछौँ । अब सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान र वितरणमा कुनै शुल्क लाग्ने छैन । शून्य पैसामा सामुदायिक विद्यालयमा पानीका धारा जडान गरिनेछन् ।”

सामुदायिक विद्यालयहरूमा निस्शुल्क रूपमा खानेपानी जडान गर्नका लागि शिक्षामन्त्रीसँगको समन्वयमा आफूले उक्त कार्य अघि बढाइरहेको मन्त्री यादवले जानकारी दिए । सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि निस्शुल्क खानेपानी वितरण तथा जडान गर्नका लागि शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली गठन गरिएको र उक्त टोलीले आवश्यक गृहकार्य गरिरहेको मन्त्री यादवको भनाइ थियो ।

सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धता ५७ प्रतिशतसम्म पुर्‍याउने लक्ष्यसहित काम भइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्