चैत १ देखी ३ गतेसम्म ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मेलन हुने
२३ माघ, काठमाडौं । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले आगामी चैत १ गतेदेखी ३ गतेसम्म ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मेलन–२०८१’ को आयोजना गर्ने भएको छ ।
बुधबार मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै सम्मेलनको बारे जानकारी गराएको हो ।
हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोवास गर्ने विभिन्न भाषा–भाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञान परम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबीच संस्कृति आदान–प्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवद्र्धन र प्रबद्र्धन गर्ने, बहुभाषिक एवम् बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाई हिमवत्खण्डका संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउने, सामाजिक एकता र सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ तुल्याउँदै जाने उद्देश्यले हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मैलन २०८१ आयोजना गर्न लागिएको हो ।
यस सांस्कृतिक सम्मेलनबाट हिमवत्खण्डका परम्परागत ज्ञान तथा मौलिक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भावी पुस्तालाई यस भू–खण्डका परम्परागत मूल्य–मान्यताको महत्व बोध गराई यसप्रति आकर्षित गराइने छ ।
सम्मेलनमा हिमवत्खण्डमा बसोबास गर्ने विविध जातजातिका परम्परागत मौलिक संस्कृति, सांस्कृतिक झाँकी, वाद्यवादन, गीत–सङ्गीत, शिल्पकला, ललितकला, वेशभूषा, गरगहना, खानपान आदिको प्रदर्शनी गरिनेछ ।
सम्मेलनमा नेपालका सातवटै प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरूको प्रदर्शनी पनि गरिनेछ र ती सांस्कृतिक सम्पदाका बारेमा गोष्ठी–पत्रको प्रस्तुतिसहित प्राज्ञिक विमर्श गरिने छ ।
यस सम्मेलनमा भारतका नेपाली भाषी क्षेत्र सिक्किम, दार्जिलिङ, आसाम, मणिपुर, मेघालय, उत्तराञ्चलको देहरादुन, उत्तर प्रदेशको बनारस, लखनउका साथै अन्य देश म्यानमार, भुटान, बङ्गलादेश, थाइल्यान्ड, चीनको तिब्बतमा बसोबास गर्ने नेपाली भाषी लेखक–साहित्यकार, संस्कृतिविद् सांस्कृतिक अभियन्ता तथा कलाकारहरूको उल्लेखनीय सहभागिता रहने छ ।
सम्मेलनका मुख्य आकर्षणहरू
नेपालका सातवटै प्रदेश हिमाल, पहाड, तराईका सांस्कृतिक झाँकीहरूको प्रतिनिधित्व गराइने छ । सम्मेलनमा नेपालबाहिरबाट एक जना गोष्ठी–पत्र विज्ञसहित बढीमा ५ जनाको समूह बनाउने गरी आमन्त्रण गरिएको छ । नेपालका सातवटै प्रदेशबाट एक एक वटा गोष्ठी–पत्र प्रस्तुत गरिनेछ । नेपालबाहिरका सहभागी स्थानबाट प्रतिनिधिमूलक गोष्ठी–पत्र प्रस्तुत गरिनेछ । सम्मेलन स्थल तथा मञ्चलाई मौलिक नेपाली पनको झल्को दिने गरी सजावट गरिने छ । सम्मेलनमा सांस्कृतिक प्रस्तुती गरिनेछ । सम्मेलनमा प्राज्ञिक विमर्श गरिने छ ।
साथै प्रतिष्ठानले सहभागीहरुलाई सम्भव भएसम्म आ–आफ्ना मौलिक तथा राष्ट्रिय पोसाकमा सहभागी हुन अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्