२८ माघ २०८१, सोमबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

घरआँगनमै घुम्ती सेवा

महोत्तरी, २७ माघ । “कई दिन स सोचैछली जे डाग्डरबाबुके देखायब, आ दबाबिरो करायब कति दिनदेखि चिकित्सकलाई देखाएर औषधिमुलो गरौँ भन्ने सोच्दै थिए” मटिहानी–४ बरदाहाको दलित बस्तीका ८० वर्षीय परीक्षण महराले भने, “आई डाक्डरबाबु अपने आयबक दबा देलैथ, आब शरीरक दर्द स आराम मिलवाक विश्वास बनल आज त चिकित्सक आफैँ घरआँगनमै आएर जाँच गरी औषधि दिनुभयो, अब शरीर दुख्ने पीडा कम होला भन्ने विश्वास छ ।”
मटिहानी नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा नगर कार्यपालिका कार्यालयको आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरी औषधि दिएपछि महरा अब शरीरको दुखाइ निको हुने विश्वासमा छन् ।
यसैगरी, सो बस्तीकै ७० वर्षीय नाजिर नदाफले नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गराई औषधि लिए । आफ्नै बस्तीमा पाएको उपचार सेवाले नदाफलाई आपूmलाई पर्दा हेर्ने ठाउँ रहेछन् भन्ने परेको छ ।
मटिहानीमा जारी एकीकृत घुम्ती सेवा शिविरमा सेवाग्राहीको उत्साहजनक सहभागिता छ । मटिहानी नगर कार्यपालिकाको कार्यालयका विभिन्न शाखा र वडा कार्यालयबाट सम्पादन हुने सबै सेवा समेटिएको यो शिविरमा तीन दिनमा तीन हजार दुई सय ९२ सेवाग्राहीले घरआँगनमै सेवा लिए । आफ्नै बस्तीमा अत्यावश्यक सेवा पाएपछि अहिले मटिहानीवासी दङ्ग छन् । नगर कार्यपालिकाको कार्यालयले मटिहानी–१ धिरापुरबाट बुधबार सुरु गरेको एकीकृत घुम्ती सेवा शिविरमा सर्वसाधारण आ–आफ्ना सरोकारका शाखाबाट सेवा लिइरहेका छन् ।
मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवामा वडास्तरीय छनोट भएका योजनासम्बन्धी अभिमुखीकरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि आवेदन सङ्कलन, निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण थालेको छ । यसैगरी घुम्ती सेवामा कृषिसम्बन्धी परामर्श, माटो परीक्षण, कृषि विद्युत् मिटर सिफारिस र तरकारीको बीउ सर्वसाधारणले पाएका छन् । यस्तै घुम्ती सेवामा घरपालुवा पशुवस्तुको स्वास्थ्य जाँच, गोबर परीक्षण र औषधि वितरण, पशुपक्षी पालनसम्बन्धी परामर्श, राजस्व असुली, स्वास्थ्य बिमा र वडाबाट दिइने व्यक्तिगत घटना दर्तासम्बन्धी सबै काम दिइँदै छ । यी सबै काम बस्तीमै आएर दिँदा आपूmको कैयौँ दिनको दौडधुप र आवतजावतमा हुने खर्च बचेको नगरवासीले प्रतिक्रिया दिएका छन् ।
शिविरमा मटिहानी–३ की समिला खातुनले आफ्नै आँगनमा ज्येष्ठ नागरिक परिचयपत्र बनाए । “कैयौँ दिनदेखि सोच्दै थिएँ, कार्यालय जाउँला ज्येष्ठ नागरिक परिचयपत्र बनाउन, घरगृहस्थीको कामले भ्याएकी थिइनँ, अहिले त घरमै टोली आएर कागज प्रमाण सबै दिए”, उनले भने, “घुम्ती सेवाले गरिबलाई निकै राहत भयो ।”
समिलाजस्तै सो वस्तीका रामभरोस मुखियाले पनि आफ्नै आँगनमा स्वास्थ्य बिमा गराए । “कहीँ जान परेन, आफ्नै घरआँगन आइपुगेको घुम्ती टोलीले सबै काम गरिदियो”, उनले भने । मटिहानी–४ बरदाहाकी ७० वर्षीया सुरुजकलादेवीले गाईको उपचार गराए । “गायके गोबर आ जरबुखार सब जचागेल, आ दबाइयो मिलल गाईको गोबर र ज्वरो जाँच भयो, औषधि पनि पाएँ”, उनले भने, “न ढेउवा लागल, न कहुँ जाएके परेसानी भेल न पैसा लाग्यो, न कहीँ जाने परेसानी नै भयो ।”
घरआँगनमै ज्येष्ठ नागरिक परिचयपत्र बनाएकी मटिहानी–४ कै ७० वर्षीया लक्ष्मीनियाँ देवीले यो परिचयपत्रबाट अरु धेरै सहुलियत पाउने बताए । शिविरमा प्रवाह भइरहेका सेवाबारे जानकारी लिन मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी पनि पुगे । “सर्वसाधारणले सहजै सेवा पाएको देखियो, यो सेवाले आम जनतामा सरकार आफ्नो घरआँगनमा आएको अनुभूति दिएको छ,” मन्त्री तिवारी भन्छन्, “यसले सकारात्मक सन्देश दिएको छ ।”

प्रतिक्रिया दिनुहोस्