२९ माघ २०८१, मंगलवार
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री

लम्की कैलाली, २८ माघ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म छ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताए।

उनले भने, “राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहेका छन् । राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ । छ लेनको सड्क निर्माणका लागि छिट्टै काम सुरू हुन्छ ।”

मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताए ।

केही दिनदेखि सुदूरपश्चिको कैलालीमा रहेकी मन्त्री देउवाले आजै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ र लम्कीचुहा नगरसमितिको नवनिर्मित पार्टी कार्यालय बिपी स्मृति भवनसमेत उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्