२९ माघ २०८१, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

२८ माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयक सरकारको आलोचक दमन गर्ने हतियारको रुपमा ल्याइएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बसेको बैठकमा शून्य समयमा बोल्दै उनले कानुन सबैका लागि हो भने सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘के हामीसँग यति धेरै जेल छन् ?जहाँ सामाजिक सञ्जाल नियन्त्रण विधेयकपछिका कसुरदारहरू राख्न सकियोस् ? सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिबानाको मेन्यु ल्याउँदैछ । नागरिकलाई तपाईं बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ । तर झुटो आश्वासन दिने भ्रम फैलाउने असम्भव बाचा गर्नेहरूचाहिँ उन्मुक्त? के यो विधेयक साँच्चै न्यायका लागि हो कि सरकारको आलोचक दमन गर्ने हतियार? कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्छ।’

त्यस्तै उनले विधेयक मार्फत सरकारले प्राप्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्न खोजेको पनि धारणा राखे ।

उनले भने,‘गंगालाल, धर्मभक्तले लडेर अभिव्यक्ति स्वतन्त्रताको अधिकार अहिले कुन बयलगाडाको चक्का खुस्किएर अड्किएको हो मैले बुझ्न सकेको छैन । सरकार त्यो बयलगाडाको चक्का लुकाउन खोजिँदैछ ?

प्रतिक्रिया दिनुहोस्