२९ माघ २०८१, मंगलवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मुख्यमन्त्रीलाई काउण्टर दिन अस्पताल सञ्चालक संगठित

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नक्कली र अवैध अस्पतालह विरुद्ध कडा कदम चाल्दै अस्पतालहरूको छड्के अनुगमन र बन्द गर्ने अभियान सुरु गरेपछि अस्पताल सञ्चालकहरू प्रतिकार गर्न संगठित भएका छन् ।

मुख्यमन्त्री सिंहको पछिल्लो अनुगमन र अस्पतालहरूप्रतिको चासोलाई दृष्टिगत गर्दै जनकपुरधामका अस्पताल सञ्चालकहरूले ‘प्राइभेट हस्पिटल एशोसिएसन जनकपुरधाम’ नामक नयाँ संगठनको स्थापना गरेका छन् ।

यस एशोसिएसनको अध्यक्षमा डा. सरोज कुमार ठाकुरलाई चयन गरिएको छ भने उपाध्यक्षमा राम भरोस महतो, सचिवमा आविद हुसेन, कोषाध्यक्षमा संजय मण्डल र सहसचिवमा डा। शुभाषचन्द्र यादव सहित २५ सदस्यीय समिति गठन गरिएको छ ।

मुख्यमन्त्री सिंहले नियोजित रूपमा अस्पताल सञ्चालकहरूलाई अनावश्यक तनाव दिइरहेको, अनुसन्धानका लागि छुट्टै निकाय रहेपनि आफैं अनुगमनमा खटिएको र सबै अस्पताललाई अवैध देखाउने गरी प्रचारवाजी गरिरहेको आरोप लगाइएको छ ।

एशोसिएसनले मुख्यमन्त्रीको अनुगमनलाई राजनीतिक चालका रूपमा व्याख्या गर्दै अस्पताल सञ्चालकहरूलाई संगठित हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

एशोसिएसनका अध्यक्ष डा. सरोज कुमार ठाकुरले भने, ‘मुख्यमन्त्री सिंहको यो अभियान अवैध अस्पतालहरूको छानबिनभन्दा पनि प्रतिष्ठित अस्पतालहरूलाई बदनाम गर्नेतर्फ केन्द्रित छ । हामीले कुनै पनि अवैध काम गरेका छैनौं । तर, सरकारको चर्को दबाबमा हामीलाई अनावश्यक तनाव दिइएको छ ।’ ठाकुरले थपे, ‘हामीले कानूनी रूपमा सञ्चालित हस्पिटलहरूलाई बदनाम गर्न खोज्ने यो कार्यको कडा प्रतिरोध गर्नेछौं ।’

अस्पताल सञ्चालकहरूले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आफ्नो गुनासो राख्ने, पत्रकार सम्मेलन गरी वास्तविकता बाहिर ल्याउने र आफूमाथि लगाइएका गलत आरोपहरूको विरुद्ध संघर्ष गर्ने योजना बनाएका छन् । उनीहरूले सिघ्र आपतकालीन सेवाबाहेकका सबै सेवाहरू ठप्प पार्ने तयारी गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्