प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको विरोध
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/348356560_771827577773693_8415006017056415712_n-e1685875805318-1200x700.jpg)
२९ माघ, काठमाडौँ । प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहेका उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिए ।
सांसद खतिवडाले अदालत परिसरमा कानुन व्यवसायी कुटिएको लगायतका विषयमा आफ्नो धारणा राखे । सांसद खतिवडाले आफ्नो मन्तव्य राखेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियमापत्ती जनाए ।
उनले सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो भन्दै प्रश्न गरे । सभामुखको आसनमा रहेका उपसभामुखले सांसद खतिवडाले आकस्मिक समयमा नै नाम टिपाउनु भएको भए पनि छुटेका कारणले बोल्न दिइएको बताए ।
नेकपा (माओवादी केन्द्र)लगायतका विपक्षी दलका सांसदले कुन विधि र प्रक्रियाका आधारमा सत्तापक्षीय सांसदलाई पटक पटक बोल्न दिइएको हो भन्दै प्रश्न उठाएपछि उपसभामुख रानाले यसमा के भएको हो अध्ययन गर्न सचिवालयलाई निर्देशन दिइसकिएको बताए । तर पनि विपक्षी दलका सांसदहरुले चित्त बुझाए ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने बताए । विपक्षी दलको लगातारको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्