३० माघ २०८१, बुधबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

गाउँघरमा परम्परागत टपरी हराउँदै

गाईघाट उदयपुर, ३० माघ । उदयपुरको ग्रामिण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ ।

हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको हो ।

विवाह, भोज, भतेरसहितका कार्यमा कागजको टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी विस्थापित भएको हो । व्यावसायिक रुपमा परम्परागत टपरी उत्पादन गर्नेको रोजगारी सङ्कटमा पर्दै गएको थारु समुदायका महिला बताउँछन् ।

त्रियुगा नगरपालिकाको मोतिगडा, बगाहा, जोगिदह, देउरी, खैजनपुर, मोथ्याई, पोर्ताहा, लक्ष्मीपुर, पुरानो गाईघाट र गैरुन क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायको विवाह, भोज, भतेरलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा अनिवार्य रुपमा भोर्लाको पातको टपरी प्रयोग गर्ने चलन छ ।

कागजको टपरीको कारण आफूहरुको संस्कार र संस्कृति नै लोप हुने अवस्थामा पुगेको त्रियुगा–४ बगाहाका महेन्द्र चौधरी बताउछन् । थारु समुदायको भोज भतेर विवाहसहितका धार्मिक कार्यमा भोजन गर्दा भोर्लाको पातको टपरीमा अरुलाई खाना दिने चलन छ । हिजो आज कागजको टपरी प्रयोग हुन थालेको छ ।

त्रियुगा–४ बगाहाकी ५५ वर्षीया मङ्गलीदेवी चौधरी भन्छन्, “दश वर्ष अगाडिसम्म गाउँघरमा भोज भतेरमा अनिवार्य भोर्लाको पातको टपरीमा खाना खान दिने लचन थियो । जङ्गलबाट पात ल्याएर टपरी उद्योग नै चलाएका थियौँ । सबैतिरबाट टपरीको माग आउँदा वार्षिक रु ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरेको थियो ।”

केही वर्षयता टपरीको माग हुन छाडेको र कागजको टपरी प्रयोग गर्न थालेपछि आफूहरुको रोजगारी सङ्कटमा परेको मङ्गलीदेवी चौधरीले बताए । चौदण्डीगढी नगरपालिका–४ सुन्दरपुरका ६७ वर्षीय रेवतलाल चौधरी भन्छन्, “केही वर्षअघिसम्म अनिवार्य भोर्लाको टपरी प्रयोग गर्ने चलन थियो । कागज र प्लास्टिकका टपरी प्रचलनमा आएपछि भोर्लाको टपरी लोप नै हुने अवस्था आयो ।”

थारु कल्याणकारी सङ्घ उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीले भन्छन्, “पूर्खाको पालादेखि भोर्लाको पातको टपरी प्रयोग गर्ने चलन थियो । अब हराउँदै गएको छ ।” संस्कृति र संस्कार बचाउन आवश्यक रहेको उनले बताए । केही वर्षअघिसम्म भोर्लाको टपरीका लागि जिल्लाबाहिर सप्तरी, सिरहा, मोरङ, सुनसरीलगायत ठाउँबाट माग आउने गरेको त्रियुगा–४ बगाहाका महेन्द्र चौधरी बताउछन् । भोर्लाको पातको टपरी आफूहरुको सांस्कृतिक पहिचान भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्