सीमा क्षेत्रमा कडाइ गर्न पोल्ट्री व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/kukhura111675068380.png)
चितवन, ३० माघ । यहाँका व्यवसायीले भारतमा पोल्ट्री व्यवसायमा बर्डफ्लु देखा परेपछि रोग भित्रिन नदिनका लागि सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन् ।
नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी हुँदा पोल्ट्रीजन्य पदार्थसँगै रोग भित्रिन सक्ने भन्दै व्यवसायीले आज गृहमन्त्रीलाई भेटी सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन् ।
भेटका क्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनका प्रमुखहरूलाई आजै बोलाएर सीमा क्षेत्रबाट अवैध रूपमा कुनै पनि पोल्ट्रीजन्य पदार्थ भित्रिन नदिन निर्देशन दिने बताए । यसअघि पनि यो विषयमा जानकारी प्राप्त गरेको भन्दै उनले नेपालमा रोग भित्रिन नदिन प्रशासनले गर्ने काममा कुनै कमी हुन नदिने आश्वासन दिएका नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए ।
पोखरेलले भने, “गृहमन्त्रीले हामीलाई आश्वस्त पारेका छन्, हामी ढुक्क भएर फर्किएका छौँ ।” उनका अनुसार भारतको उत्तर प्रदेश र विहारमा बर्डफ्लु देखिएको छ । नेपालका सीमा क्षेत्र र नजिकका बजारमा ३० प्रतिशतभन्दा बढी भारतीय सेतो अण्डा आउने गरेकाले सीमामा कडाइ गर्न आग्रह गरिएको उनले जानकारी दिए । रोगको जोखिम र नेपालीको अण्डाको बजार समेत प्रभावित हुने भएपछि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको पोखरेलले बताए ।
भेटका क्रममा पोल्ट्री व्यवसायी मञ्चका तर्फबाट निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने र सङ्घका अध्यक्ष पोखरेलले मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका थिए। ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका लामिछानेका अनुसार अण्डा, मासु र चल्ला सीमा क्षेत्रबाट खुल्ला रूपमा भित्रिरहेका छन् । सुरक्षा निकायले सीमा क्षेत्रमा कडाइ नगरेपछि मन्त्रीलाई भेट्नुपरेको उनले बताए ।
भेटमा सङ्घका महासचिव भेषराज अर्यालसहित पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्