मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो : सांसद कार्की
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Toshima-Karki-1296x700.jpg)
काठमाडौं । बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आपत्ति प्रकट गरेकी छिन् ।
सांसद कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले बुधबार बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेर बाढी नै आएको प्रसंगलाई जोड्दै गुणस्तरीयहीन काम गर्दाको नजिताका रुपमा पाइप फुटेको बताइन् ।
उनले भनिन्,‘मेलम्ची खानेपानी आयोजना भनेर वर्षौदेखि आज जनतालाई झुक्याइएको अवस्था छ । अर्बौ खर्च भइसकेको छ ।
अझै प्रोजेक्ट पूर्ण हुनलाई त्यहाँ अर्बौं लाग्छ रे । यही एउटा मेलम्ची देखाएर जनतालाई काकाकुल बनाए झुक्याएर ठगेर बसेको अवस्था छ,’ उनले अगाडि भनिन्,‘निर्माण सम्पन्न भइसकेको भनिएको पाइप विस्तारको काममा पनि फुटेर सडक नै भत्किएर बाढी जाने अवस्था आइसकेको छ ।
जिम्मेवार निकायहरु थप जिम्मेवार हुनुपर्यो, त्यसमा गृहकार्य गर्नुपर्यो । यसमा गुणस्तरको काम नै भएन, के कत्तिको पानी फ्लो त्यसले थाम्न सक्छ, यस्तो कुरामा राम्रो अध्ययन हुनुपर्छ ।’
पाइप फुटेपछि पानी बगेर बबरमहल क्षेत्र जलमग्न भएको थियो । बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सरसफाइइसँगै मर्मत सुरु गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्