Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रेडियो स्थानीयस्तरमा सूचनाको भरपर्दो सञ्चारमाध्यम

रासस
2 महिना अघि

रामपुर पाल्पा, २ फागुन । रेडियोले समाजको खबर बोल्छ । गाउँघरमा हुने गतिविधि जनतामाझ सुसूचित गराउँदछ ।

मेलापात, घाँसपात, घरायसी कामकाज होस् या विभिन्न कार्य गर्दा पनि रेडियोलाई सारथी बनाएर सुन्ने श्रोता गाउँघरमा धेरै छन् ।

बढ्दो सूचना प्रविधिको विकासले सञ्चार क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिएको छ । पढाइलेखाइ, सञ्चार सुविधा पुगेका व्यक्तिका लागि त अनलाइन माध्यमबाट विभिन्न सूचना सन्देश ग्रहण गर्ने माध्यम छ ।

तर सामान्य साक्षर या निरक्षर व्यक्तिका लागि रेडियो एउटा साथी बनेको छ । स्थानीयस्तरमा सञ्चालित एफएम रेडियोले ग्रामीण भेगका जनतामाझ सूचना प्रवाह गर्दै आएका छन् ।

गाउँबस्तीका सूचना प्रवाह गर्ने भएकाले अहिले ग्रामीण भेगमा एफएम रेडियो सूचनाको संवाहक बनेका छन् ।

देशविदेशका खबर रेडियोले भन्ने हुँदा रेडियो एउटा साथीजस्तै बनेको बताउछन्, पाल्पा रामपुर नगरपालिका–६ स्थित विजयपुर बस्ने ज्येष्ठ सदस्य तिलकुमारी उपाध्याय रेग्मी ।

उनी उमेरले सात दशक पार गरिसके। आफूले जानेबुझेदेखि नै रेडियोलाई एउटा जीवनको सहयात्री बनाउँदै खबर सुन्ने र जानकारी लिने गरिरहेको उनी बताउछन् ।

“बिहानै उठेर रेडियो खोल्छु, रेडियोले आज के नयाँ खबर ल्याउँछ भनेर सुन्न अत्यन्तै उत्सुक हुन्छु”, उनले भने, “आफ्ना गाउँका खबर, देशविदेशका सबै खबर सुन्न पाइन्छ, घरमा रेडियो बजिरहेको हुन्छ, एक्लै हुँदा एउटा साथीको रूपमा रेडियोलाई लिने गरेको छु ।”

घरमा परिवारका सदस्य बाहिर कामकाजमा निस्केका बेला आफूलाई एक्लोपन हटाउन रेडियो बजाएर साथी बनाउने गरेको उनले सुनाए । उनी बिहानदेखि साँझसम्म रेडियोबाट विभिन्न खबर सुन्ने गर्छन् ।

स्थानीय एफएम रेडियोले मान्छे हराएको, पानीको पालोदेखि गाउँघरका आमा समूहको भेला, बैठक, गोष्ठी, स्थानीय सरकारले गरेका काम, देशमा के भइरहेको छ, विश्वभरका घटनाक्रमलगायत विविध खबर प्रसारण गर्ने हुँदा गाउँबस्तीमा यसको राम्रो प्रभाव परेको छ ।

सहरोन्मुख क्षेत्रमा सूचना, सञ्चार, इमेल, इन्टरनेटको पहुँचका कारण एफएम रेडियो सुन्ने श्रोता कमै हुन्छन् ।

विकट र दुर्गम गाउँबस्तीमा भने मेलापात र घाँस दाउरा गर्न जाँदा साथमै रेडियो बोकेर जाने चलन छ । गाउँघरमा हरेक दिन भएका खबर समेटेर रेडियोले प्रसारण गर्ने हुँदा ग्रामीण भेगका बासिन्दालाई सूचना प्राप्त गर्ने भरपर्दो सञ्चारमाध्यम एफएम रेडियो बनेको छ ।

गाउँका एफएम रेडियोले टोल बस्तीका हरेक दिनका गतिविधि प्रसारण गर्ने हुँदा दुर्गम र विकट गाउँका बासिन्दाका लागि सूचनाको राम्रो पहुँच पुगेको छ ।

ग्रामीण भेगका बासिन्दाका लागि एफएम रेडियो जीवनको एउटा साथी बनेको छ । सही, सत्यतथ्य सूचना तथा खबर रेडियोले प्रवाह गर्छ भन्ने जनविश्वास नागरिकमा रहेको हुँदा रेडियोका खबर सुन्दै आफ्नो दैनिकीमा लाग्ने गाउँघरमा धेरै रहेको सामाजिक अभियान्ता लेखनाथ शर्मा मरासिनी बताउछन् ।

“म नियमित रेडियो सुन्छु, बिहान उठेर रेडियो खोल्ने र स्थानीयदेखि देशविदेशका खबर, घटनाक्रमबारे जानकारी लिने र आफ्नो दैनिकीमा लाग्ने गर्छु, रेडियो खोलेपछि आज के नयाँ खबर आउँछ भनेर जान्न र सुन्न उत्सुकता बढेर आउँछ”, उनले भने ।

पेसाले उनी शिक्षक हुने । उनको हातमा स्मार्टफोन, घरमा इन्टरनेटको पहुँच राम्रो छ । तैपनि ताजा जानकारी लिन उनी रेडियो नै खोल्छन् । रेडियोबाट समाचार, घटनाक्रम, खबर सुन्दा आनन्द लाग्ने गरेको अनुभव उनले सुनाए ।

आवाजविहीनहरूको आवाज बोल्ने माध्यम भनेकै रेडियो हो । पछिल्लो समय नयाँनयाँ सञ्चारमाध्यम भित्रिएता पनि रेडियोको महत्त्व छुट्टै छ । सहरबजारमात्र नभइ गाउँघरमा रेडियो सञ्चारमाध्यमले राम्रो प्रभाव पारेको छ ।

बिहीबार विश्व रेडियो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइयो । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन थालिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया