नयाँ बर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी

पोखरा । नयाँ बर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने र नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संयोजक सुवेदीले प्रष्ट्याए । देशविदेशका पर्यटलाई पोखरामा आकर्षित गर्ने र फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्य पनि महोत्सवले बोकेको उनले बताए ।
ड्यामसाइडदेखि गैराको चौतारा सम्मको तीन किलोमिटर भन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था महोत्सवमा हुने आयोजक समितिले जनाएको छ । विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टलहरु र खेलकूदका कार्यक्रम समेत महोत्सवमा समेटिने छन् ।
महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनाहरुलाई संघले प्रदान गर्ने विशेष छुटको घोषणा छिटै गरिने संघले स्पष्ट पारेको छ । पछिल्लो क्रममा स्तरोन्नती हुँदै गरेको पृथ्वी राजमार्गको धेरैजसो खण्डको यात्रा पनि सहज हुन थालेको जनाउँदै संयोजक सुवेदीले पाहुनाहरुलाई नेपाली नयाँ बर्ष मनाउन पोखरा आउन आव्हान गरे ।
निकट भविश्यमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य राष्ट्र जोड्ने गरी उडान हुने तयारी भइरहेको आफूहरुलाई जानकारी प्राप्त भएको बताउँदै सुवेदीले पोखराको पर्यटनप्रति आफूहरु आसावादी भएको सुनाए ।
महोत्सवलाई व्यवस्थित रुपमा अगाडि बढाउन आयोजक समितिले हालै पोखरामा एक कार्यक्रमको आयोजना गरी उपसमितिका संयोजकहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको थियो । संघका प्रथम र द्वितीय उपाध्यक्ष क्रमशः दीपक श्रेष्ठ र गणेशराज पहारी महोत्सवको सहसंयोजकका रुपमा रहेका छन् । संघका अन्य पदाधिकारी र सदस्यहरुलाई पनि विभिन्न जिम्मेवारी प्रदान गरिएको छ ।
कोभिड १९ बाट नराम्रो गरी प्रभावित भएको पर्यटनलाई लयमा फर्काउन समेत महोत्सव सहयोगी हुने अपेक्षा गरिएको छ । महोत्सवको प्रचार तथा आन्तरिक पर्यटकलाई बढवा दिन संघले दुई दशक अघि देखि जाउँ है पोखरा अभियान समेत संचालन गर्दै आएको महोत्सवका सहसंयोजक गणेशराज पहारीले स्मरण गराए ।
यसैबिच संघले नेपाल पर्यटन बोर्ड गण्डकीको प्रमुखका रुपमा पोखरा आएका मणिराज लामिछानेलाई कार्यक्रममा स्वागत गरेको थियो । सो अवसरमा प्रमुख लामिछानेले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा संघसँग हातेमालो गरेर अगाडि बढ्ने भनाई राखे ।
प्रतिक्रिया दिनुहोस्