मिथिला महाकुम्भ यात्राको तयारी

महोत्तरी, ११ फागुन । मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्र अहिले भक्ति र समर्पणका दुई महापर्वमा जुटेको छ । यहाँ अहिले महाशिवरात्रि पर्व र मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी छ ।
फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र दुई दिनलगत्तै औँसीका दिन सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारीमा मैथिल मिथिलाका बासिन्दा छन् ।
यसपालि आउने बुधबार महाशिवरात्रि पर्व मनाइने र त्यसको दुई दिनपछि शुक्रबार मिथिला माध्यमिकी परिक्रमा सुरु गरिँदै छ ।
“फूल र बेलपत्र चढाएर माध्यमिकी यात्रा पूरा गर्ने याचना गर्नु छ”, महाशिवरात्रि पर्वलगत्तै मिथिला माध्यमिकी परिक्रमाको तयारीमा रहेका भङ्गाहा–४ रामनगरका ६५ वर्षीय लाली महतो भन्छन् ।
महतोकै जस्तो अहिले महाशिवरात्रि पर्वका लागि महोत्तरी जिल्लाका गाउँगाउँमा बुँदे महापर्वबारे चासो र चर्चा बढेको छ । यसैगरी शिवालयमा पनि अहिले उत्सवको तयारी बढेको छ । जिल्लाका सबैजसो शिवालय अहिले पर्वविशेषमा सरसफाइसँगै रङरोगन गरिँदैछन् ।
सदरमुकाम जलेश्वर–१ स्थित जलेश्वरनाथ, बर्दिवास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ, सोनमा–७ मगरथानास्थित मङ्गलनाथ र सम्सी गाउँपालिकाको गेढाभेटपुरस्थित धष्नेश्वरनाथसहितका शिवालयमा महाशिवरात्रि पर्वको चहलपहल बढेको छ ।
यसैगरी बर्दिबास–१४ स्थित कामेश्वरनाथ र बर्दिबास–३ राइमण्डलस्थित इन्द्रेश्वरनाथ महादेव मन्दिरमा पनि पर्वको तयारीले चहलपहल बढाएको छ । यी शिवालयमा महाशिवरात्रि पर्वका लागि मन्दिर व्यवस्थापन र सर्वसाधारण आवश्यक तयारीमा जुटेका छन् ।
महाशिवरात्रि पर्वका लागि स्थानीय तयारी थालिएको टुटेश्वरनाथ मन्दिर मेला व्यवस्थापन समितिका संयोजक तथा बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाले जानकारी दिए ।
मिथिलामा फागुन कृष्ण द्वादशीदेखि चतुर्दशीसम्म महाशिवरात्रि मेला आयोजन गरिने परम्परा छ । पर्व नजिकिएसँगै पर्वविशेषमा हुने किनबेचका सामग्री अहिले मन्दिर परिसर नजिक सजाइन थालिएका छन् ।
पर्वविशेषमा भाकलको भाण्टाभार, बेलपत्र र फूलपाती बेचेर केही आर्जन गर्ने जोहोमा सर्वसाधारण लागेका छन् । यसपालि महाशिवरात्रि पर्वमा १० हजार भाण्टाका भार बेच्ने तयारी गरेको भङ्गाहा–४ रामनगरका बहुरा महतो बताउछन् ।
मिथिलामा महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै दुई दिनपछि सुरु हुने फागुन शुक्लपक्षभरि मिथिला माध्यमिकी परिक्रमाको उत्सव मनाइन्छ ।
फागुन औँसीकै दिन सुरु हुने मिथिला माध्यमिकी परिक्रमामा महोत्तरी, धनुषा र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लासहित एक सय ३३ किलोमिटरको वृत्तभित्र १५ ठाउँमा रात्रिबास गरेर मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने परम्परा छ ।
अहिले आफ्नो ठाउँमा महाशिवरात्रि र मिथिला माध्यमिकी परिक्रमाको पाँचौँ दिनको रात्रि विश्रामको चाँजो मिलाउन अन्तिम तयारी भइरहेको जलेश्वर नगरप्रमुख सुरेश साह सोनारको भनाइ छ ।
अवधकिशोर मिथिलामा श्रीरामलाई मिथिलाविहारी र अवधकिशोर पनि भनिन्छ० र किशोरीजी सीताजीका प्रतिमा राखिएका डोला अघि लगाएर १५ दिन मिथिला क्षेत्रभित्रका तीर्थस्थलहरूको दर्शन गर्दै नाङ्गा खुट्टाले पैदल हिँडेर गरिने यो यात्रा मिथिलाको महाकुम्भ मानिन्छ ।
फागुन पूर्णिमाका दिन यो यात्रा सम्पन्न गरेसँगै होलिका दहनको धुरा उडाएर होलिका राक्षसीको आकृति डढाएर त्यसको खरानी उडाइने चलन त्यसको भोलिपल्ट हिन्दू धर्मावलम्बीले फागु अर्थात् होलीपर्व मनाउनेछन् ।
यो पर्व परम्परा मिथिलामा रामसीताको वनविहार र सत्ययुगमा राक्षसराज हिरण्यकशिपु र उनका विष्णुभक्त छोरा प्रह्लादसँग जोडिएका प्रसङ्ग पाइने गरेको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा रवीन्द्रदास वैष्णब बताउछन् ।
मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहित पाँचवटा रात्रि विश्रामस्थल रहँदै आएका छन् । त्यसैगरी धनुषामा छ रात्रिविश्राम र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामको परम्परा छ ।
नेपाल र भारतका हजारौँ साधुसन्त सहभागी हुने यो मिथिलाको महाकुम्भमा परिक्रमाका यात्रीको बासस्थान, प्राथमिक उपचार, भोजन र आपतकालीन सेवाका लागि रात्रिविश्रामस्थल रहेका ठाउँमा स्थानीय तह, मठमन्दिर व्यवस्थापन, सामाजिक सङ्घसंस्था र व्यक्तिहरूले स्वेच्छिक प्रबन्ध गर्ने गरेका छन् ।
माध्यमिकी परिक्रमाको संयोजन पछिल्ला दुई दशकयता विभिन्न मठमन्दिर व्यवस्थापनको समन्वयमा बृहत्तर जनकपुर क्षेत्र विकास कोष परिषद्ले गर्दै आएको छ ।
यी बुँदे मिथिलाका महापर्व मानिन्छन् । महाशिवरात्रि मेला र मिथिला माध्यमिकी परिक्रमा मेला लाग्ने ठाउँ नजिकका बस्तीहरूमा घरघरैजसो मेलाउत्सव हेर्न आउने पाहुना भरिभराउ हुन्छन् ।
यी पर्व भन्नासाथ मेला हुँदै आएका ठाउँ नजिकका बस्तीका बासिन्दा आउने पाहुनाको स्वागत, खानपान र विश्रामको चाँजोमा केही दिन पहिलेदेखि नै लाग्ने गर्छन् ।
मिथिला क्षेत्र अहिले यी बुँदे महापर्वको तयारीमा जुटेको देखिँदो छ । यहाँ यो भेटघाट र कुशलक्षम बुझ्ने अवसर पनि रहँदै आएको मिथिला लोकपरम्पराका जानकार जलेश्वर–५ का ध्रुव राय बताउछन् ।
प्रतिक्रिया दिनुहोस्