चिनियाँ नागरिकको सितापाइलास्थित डेरामा छापा, भेटियो रित्तो लकर
२५ भदौ, काठमाडौं । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा संलग्न एक जना आरोपीको डेरामा प्रहरीले छापा मारेको छ ।
सुन ल्याउने गिरोहका मुख्य सदस्य चिनियाँ नागरिक दाओजिन वाङको सीतापाइलास्थित डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । सीआईबीले छापा मारेर केही कागजात र सामग्री बरामद गरेको एक अनुसन्धान अधिकृतले बताए ।
वाङको डेराबाट प्रहरीले एउटा लकर समेत बरामद गरेको थियो । सीआईबीमा सोमबार लकर फोडेर हेर्दा त्यसमा केही भेटिएन । सुन वा अन्य कुनै बहुमुल्य वस्तु लुकाउन उनले त्यो लकर घरमा राखेको हुनसक्ने अनुमान गरिएको छ ।
तर, सुनबारे छानबिन सुरु भएलगत्तै भागेर चीन पुगिसकेका वाङले त्यसअघि नै सुन लगायतका महत्वपूर्ण सामग्रीहरु लुकाइसकेको हुनसक्ने अनुमान गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको थियो ।
भेप बरामद गरेर गोदाममा राखिएका बेला तस्कर समूहले छुटाउनका लागि ताकेता गरिरहेका थिए भने भेपभित्र सुन रहेको थाहा पाएपछि भन्सारका अधिकृत रेवन्त खड्कासहितको मिलेमतोमा सुन विक्री गरिएको थियो । त्यसरी सुन विक्री गरेको थाहा पाएपछि तत्कालीन प्रमुख भन्सार प्रशासकले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जाहेरी दिएका थिए ।
सीआईबीले संगठित अपराधको कसूरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०७० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो ।
महराले सुनसहितको भेप छुटाउन दबाब दिएको खुलेको थियो भने उनका छोरा राहुलको चिनियाँ नागरिक वाङसँग निकट सम्बन्ध रहेको देखिएको थियो । उनीसँग देखिएको सम्बन्धको आधारमा सीआईबीले १३ भदौमा राहुललाई पक्राउ गरेको छ ।
चौतर्फी दबाबपछि पक्राउ परेका राहुल हाल प्रहरी हिरासतमा छन् ।
प्रतिक्रिया दिनुहोस्