Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ग्याल्पो ल्होसारः शेर्पा समुदायको पहिचान, परम्परा र नयाँ वर्षको उल्लास

रासस
2 महिना अघि

फुङ्लिङ ताप्लेजुङ, १६ फागुन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङका तेन्जिङ शेर्पा बुधबार घरबाट ल्होसार मनाउन काठमाडौँतर्फ प्रस्थान गरे ।

उनको परिवार केही महिनाअघि मात्र पापुङबाट काठमाडौँ सरेकाले आफन्तहरूसँग नयाँ वर्ष मनाउन उनी राजधानी गएका हुन् ।

स्थानीय कञ्चन शेर्पा भने बिहीबार बिहानदेखि नै ल्होसारका लागि आवश्यक तयारीमा व्यस्त छन् । उनले घर तथा पूजा कोठा सजाउँदै विभिन्न सामग्री जुटाएका छन् ।

मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा पनि आफ्नो परिवारसँग ल्होसार मनाउन बिहीबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ आइपुगे । उनले परिवार फुङ्लिङमै रहेकाले गाउँबाट सदरमुकाम आएका हुन् ।

यी त केही प्रतिनिधिमात्र हुन् । अहिले हिमाली शेर्पा समुदायहरुका आ–आफ्नो गाउँघर तथा आफ्नो परिवार भएको ठाउँमा ल्होसार मनाउन पुगेका छन् ।

तेन्जिङ शेर्पाका अनुसार आज बिहान पूजापाठ गरेर आफ्नो परिवारसँग विभिन्न परिकार बनाएर खाने दिन हो । आजको दिन शेर्पा समुदायका परिवार आफ्नै घरमा बसेर दुःख सुखका कुरा गर्ने विभिन्न परिकार बनाएर खान्छन् ।

यो पर्व शेर्पा समुदायको प्रमुख चाड हो । जसलाई नयाँ वर्षका रूपमा फागुन शुक्ल प्रतिपदाका दिन विशेष उल्लासका साथ मनाइन्छ ।

फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुगोलाका वडा अध्यक्ष तथा स्थानीय छेतेन लामाका अनुसार यस वर्ष २१५२ औँ ग्याल्पो ल्होसार परेको छ ।

यो पर्व १२ वर्ग मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, र बराह मा विभाजित गरिएको छ । “हामी हिमाली शेर्पाहरू तिब्बतेन पात्रोअनुसार पर्वहरू मनाउँछौँ ।

नेपाली र तिब्बतेन पात्रो मेल नखाने भएकाले कहिलेकाहीँ एक वर्षमा १३ महिना वा ११ महिना पर्न सक्छ,” शेर्पा बताए ।

नेपालमा शेर्पाहरूले एक साता ल्होसार मनाउने परम्परा छ भने तिब्बतमा यो पर्व दुई साता मनाइन्छ । शेर्पाहरुका अनुसार ग्याल्पो ल्होसारको सुरुआत भोटका नवौँ राजा उदे गुङ््यालको पालादेखि वसन्त पर्वका रूपमा भएको मानिन्छ ।

पर्वको पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी गुम्बा जाने चलन छ । दोस्रो दिन आफन्तहरू भेटघाट गर्ने, पारिवारिक जमघट गर्ने र विशेष परिकार पकाएर भोज खाने गरिन्छ । तेस्रो दिन बुद्ध धर्म रक्षाका लागि विभिन्न धर्मपालहरूको भैरव, महाकाल आदि पूजा गरिन्छ ।

डण्डु लामाका अनुसार ल्होसारका अवसरमा घर वरपर सफाइ गर्छन् । पुरानो वर्षका नकारात्मक ऊर्जालाई हटाएर नयाँ सङ्कल्पका साथ वर्षको सुरुआत गरिन्छ ।

साथै, चौबाटोमा फोहर फाल्ने चलन रहेको छ, जसलाई नकारात्मकताको परित्यागको सङ्केत मानिन्छ । यस अवसरमा विशेष परिकार ‘गुथुक’ तयार गरिन्छ, जसमा मकै, भटमास, केराउ, चना, मुला, चामलको आटा आदि मिसाइन्छ ।

गुथुक आफ्नो कूल देवतालाई चढाइएपछि मात्र परिवारका सदस्यहरूले ग्रहण गर्छन् ।

साथै, परिवारका सदस्यको लागि पिठोका डल्ला बनाइन्छ, जसमा कागज, घीउ, नून, खुर्सानी, कोइला आदि राखिन्छ । ती वस्तुहरू व्यक्तिको स्वभाव दर्शाउन प्रयोग गरिन्छ ।

जस्तै कागज अध्ययनशीलताको, घिउ चाप्लुसीको, खुर्सानी रिसाहा स्वभावको र कोइला डाहको प्रतीक मानिन्छ ।

लामाहरुका अनुसार ल्होसारको पहिलो बिहान परिवारका सदस्यहरू धारामा गई स्नान गरी पूजा गर्छन् । त्यसपछि जल कूल देवतालाई चढाइन्छ । यस अवसरमा ‘छ्याङगुल’ नामक विशेष परिकार तयार गरिन्छ । जसमा जाँडमा छसर्पी, बदाम, नरिवल, किसमिस आदि मिसाइन्छ ।

ल्होसारको विशेष दिन शुभसाइत हेरी पहाड वा अग्लो स्थानमा गई लुङ्दार ध्वजा टाँग्ने गरिन्छ । लुङ्दारमा विभिन्न मन्त्र लेखिएका हुन्छन् । जसले शान्ति, समृद्धि, र दीर्घायुको कामना दर्शाउँछ । यो कार्य लामाबाट अभिषेक गरी सम्पन्न गरिन्छ ।

नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । जसले यो पर्वलाई राष्ट्रिय पहिचान दिलाएको छ ।

सांस्कृतिक विविधताका कारण शेर्पा समुदाय मात्र नभइ अन्य समुदायका मानिसहरू पनि ल्होसार पर्वको रमझममा सहभागी हुन थालेका छन् । परम्परा र आधुनिकता दुवैलाई समेट्दै ग्याल्पो ल्होसार झन् व्यापक रूपमा मनाउने क्रम बढिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया