केपी ओली कप’ को समापनमा चर्चित कलाकारहरुले प्रश्तुति दिने

१८ फागुन, काठमाडौं । ‘केपी ओली कप’ फुटवल प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुने भएको छ ।
राष्ट्रिय युवा संघ, नेपालले पत्रकार सम्मेलन गर्दै कुल नौं टिमले सहभागिता जनाएको यस प्रतियोगिताको फाइनल खेल मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबकाबीच फागुन १९ गते साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने जनाएको हो ।
फाइनल खेलमा विश्व चर्चित फुटबल खेलाडि इटालीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा उपस्थिति रहने समेत राष्ट्रिय युवा संघ, नेपालले जनाएको छ ।
खेलकुद र मनोरञ्जनको संयोजन रहेको यस प्रतियोगिताको समापन समारोहमा चर्चित राष्ट्रिय कलाकारहरु कुमा सागर, पूर्ण राईलगायतको बेजोड प्रस्तुति समेत रहनेछ ।
प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई रु एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ । त्यस्तै हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।
दशरथ रंगशालामा दर्शकहरुको उपस्थिति हजारौं र ऐतिहासिक हुने अनुमान गरिएको छ । त्यसकारण फाइनल खेल हुने दिन फागुन १९ गते दिउँसो ४ बजेदेखि बेलुकी ८ बजेम्म थापाथलीदेखि त्रिपुरेश्वर सडकमा खण्डमा सवारी साधन आवाज जावतमा कठिनाइ हुने देखिएकाले बैकल्पिक मार्गको व्यवस्था गर्न राष्ट्रिय युवा संघ, नेपालले ट्राफिक प्रहरीलाई विशेष अनुरोध गरेको जनाएको छ ।
सो दिन त्रिपुरेश्वरस्थित वल्डट्रेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण ‘कान्तिपुर टेलिभिजन’ले गर्नेछ भने टिकेटिङ पार्टनर ‘खल्ती’ रहेको छ । यसको साथै अन्य विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।
प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण कार्यहरुको आवश्यक तयारी पुरा गरिसकेको राष्ट्रिय युवा संघ, नेपालले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
‘केपी ओली कप’ फुटवल प्रतियोगिताको प्रचारप्रसारको लागि जिल्ला जिल्लाहरुमा पनि प्रचारात्मक कार्यक्रमहरु गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्