१९ फाल्गुन २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अन्तरपालिका भलिबलः पुर्चौडी विजयी, पञ्चेश्वर बाहिरियो

बैतडी, १८ फागुन । बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा पुर्चौडी नगरपालिका विजयी भएको छ ।

आज भएको खेलमा पञ्चेश्वर गाउँपालिकालाई ३–२ को सेटमा हराउँदै पुर्चौडी विजयी भएको हो ।

साहिलेकस्थित वीरेन्द्र माविको खेलमैदानमा भएको खेलमा सुरुमा दुई सेट पञ्चेश्वरले आफ्नो पक्षमा पारेको थियो । त्यसपश्चात बाँकी तीन सेट पुर्चौडीले जित्तेको हो ।

पहिलो सेट पञ्चेश्वरले २९–२७, दोस्रो सेटमा २५–२१ ले जित हासिल गरेको थियो । त्यसपछि पुर्चौडीले तेस्रो सेट २५–१९, चौथो २५–२१ र निर्णायक तथा अन्तिम सेट १७–१५ को अङ्कले हात पार्दै खेलमा जित निकाल्यो ।

मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता छ ।

प्रतियोगिताको विजेताले रु एक लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए ।

उपविजेताले रु ७५ हजार, तृतीयले रु ३५ हजार, सान्त्वनालाई रु १५ हजार र उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पुरस्कार दिइनेछ ।

यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

दशरथचन्द नगरपालिका– ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रीय प्रबन्धक थिए ।

उनकै स्मृतिमा विसं २०७४ मा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्