हिमपातका कारण अवरुद्ध सडक सन्चालनमा

१८ फागुन, मुगु । हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड अन्ततः सञ्चालनमा आएको छ । यो सडकखण्ड भूलभुले र सात मोड क्षेत्रमा हिउँ जम्नुका साथै पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको थियो ।
सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो । तर, सडक डिभिजन जुम्ला, प्रहरी, र स्थानीयको सक्रियताले सडक खुला भएको छ ।
मेसिन र जनशक्ति परिचालन गरी भूलभुले, सात मोड र जिअ भिड क्षेत्रको हिउँ र पहिरो हटाईएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए ।
उनका अनुसार यो सडक खुलेसँगै मुगुका बासिन्दा र रारा जाने पर्यटकलाई आवतजावतमा ठूलो सहजता भएको छ ।
प्रहरी चौकी गोठिज्युलाबाट खटिएको टोली र स्थानीयले जिअदेखि भूलभुलेसम्मको करिब ४ किलोमिटर क्षेत्रमा पहिरो पन्छाउन महत्त्वपूर्ण योगदान गरेका थिए ।
सडक सुचारु भएपछि पर्यटक र स्थानीयलाई ठूलो राहत मिलेको प्रहरी नायव उपरिक्षक छेदिलाल कामतीले बताए । उनले भने, ‘हाम्रो टोलीले रातदिन नभनी काम गरेको छ ।’
सडक अवरुद्ध हुँदा रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका थिए । सडक सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि र स्थानीयको दैनिकी सहज बनेको छ ।
जुम्ला र मुगुका प्रहरी ,प्रशासन,सडकडिभिजन कायालयको पहलमा बन्दा सडकमा २ फुट भन्दा बढि आएको हिउँ पन्छाएर सडक सन्चालनमा आएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस्