२० फाल्गुन २०८१, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताए ।

उनले भने, “संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पारे ।

उनले देशका दुरदराजमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको उल्लेख गर्दै यो अवस्थालाई गम्भिरतापूर्वक लिएर देशका कुना, कुनामा दक्ष, विज्ञ चिकित्सकको सेवा पु¥याउन आवश्यक रहेको बताए ।

उनले भने, ‘आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन आह्वान गर्दछु ।’

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु सुखद् पक्ष भएको उल्लेख गर्दै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको बताए ।

उनले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताए । यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी दिनमा नेपाल चिकित्सक सङ्घको भूमिका अझ प्रभावकारी हुने राष्ट्रपति पौडेलले बताए ।

सो अवसरमा ‘लिजेन्ड इन मेडिसिन’बाट डा गौरीशङ्करलाल दास, डा मृग्रेन्द्रराज पाण्डे, डा दिनेशनाथ गङ्गोल, डा डिबि कार्की र डा सरस्वती पाध्येयलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्