३ आश्विन २०८१, बिहीबार
समाज

विरामी जाँच्न छाडेर डाक्टरहरूको प्रदर्शन, ‘विदेश पलायन हुन बाध्‍य नपार’

३१ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बन्चित भएका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा नयाँ बिरामी नजाँच्ने निर्णय डाक्टरहरुले गरेका छन् ।

त्यसैले नेपालको जेठो बीर अस्पतालको ओपीडी टिकट काउन्टर आज बन्द छ । त्यहाँ सेवा बन्द गरिएको सूचना टाँस गरिएको छ । त्यही सूचना पढ्दै बिरामी र तिनका आफन्त घर फर्किएका छन् ।

डाक्टरहरु पनि हातमा कालोपट्टी बाँधेर अस्पताल पुगेका छन् । उनीहरुले आकस्मिक कक्षमा र भर्ना भएका बिरामीहरुको मात्र उपचार गरेका छन् ।

पाखुरामा कालोपट्टी बाँधेका केही डाक्टरहरुले प्लेकार्डसहित बीर अस्पताल परिसरमै प्रदर्शन पनि गरेका छन् । उनीहरुले ‘हिंसा समस्या हो, समाधान होइन’, ‘ह्वाइट कोट इज टर्निङ रेड’ -सेतो कोट रातोमा परिणत हुँदैछ), ‘विदेश पलायन हुन बाध्य नपार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न नेपाल चिकित्सक संघले ७२ घण्टाको अल्टिमेटम दिएको थियो ।
तर माग सम्बोधन नभएको भन्दै संघले आज एक दिन अस्पताल, पोलिक्लिनिक, क्लिनिक लगायतमा ओपीडी सेवा रोकेका हुन् ।

गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो ।

त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । डाक्टरहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई भदौ २९ गते तीन दिनको म्याद दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्