उच्च अदालतको भवन निर्माण अन्तिम चरणमा

गलकोट बागलुङ, २५ फागुन । उच्च अदालत पोखरा बागलुङ इजलासको निर्माणाधीन उच्च अदालतको भवन ९० प्रतिशत सम्पन्न भएको छ । साढे छ तला आधुनिक र पूर्ण आपाङ्गतामैत्री भवनमा रङरोगनको काम भइरहेको छ ।
अदालतको भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । विसं २०७९ मङ्सिर १६ गते ३० महिनामा सम्पन्न गर्नेगरी रु ५७ करोडमा ठेक्का सम्झौता भएको थियो ।
उक्त भवन गण्डकी प्रदेशको नमुनामध्येमा पर्ने उच्च आदलत पोखरा बागलुङ इजालसले जानाएको छ । दुई वटा विद्युतीय भ¥यायाङसहित नमुना भवनको हालसम्म ९० प्रतिशत भौतिक र ८० प्रतिशत आर्थिक प्रगति भएको इजालसका रजिष्ट्रार रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार सम्झौताअनुसार निर्माण भइरहेकाले निर्धारित समयभित्रै भवन हस्तान्तरण गर्ने निर्माण व्यवसायीले कार्यतालिका पेस गरेका छन् ।
“कार्यप्रगति सन्तोषजनक छ, जेठभित्रै सेवा दिने हाम्रो तयारी छ, निर्माण व्यवसायीले ३० महिनाभित्र बुझाउँछु भनेर काम गरिरहेका छन् । अहिले तीन वटा आवास गृह र मुख्य भवनमा फर्निचर, रङरोगनको काम भइरहेको छ”, रजिष्ट्रार थापाले भने, “आर्थिक अभावका कारण बीचमा निर्माण सुस्त भए पनि अहिले १२ घण्टा काम भइरहेको छ, सुरुमा दिन र रातगरी भवनको ढलान भएको थियो ।”
भवन निर्माणका लागि अत्याधुनिक उपकरण प्रयोग गरिनुका साथै दिन र रातमा दुई चरणमा काम भएकाले समय सीमाभित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।
निर्माण व्यवसायीको प्रतिनिधि महेन्द्र पौडेलका अनुसार समयभित्रै काम सक्न कम्पनीका प्रतिनिधि र कामदारले दैनिक १२ घण्टा काम गरिरहेका छन् । “यति ठूलो भवन ३० महिनामा सक्नु चुनौतीपूर्ण हो, तर हामीसँग प्रविधि र जनशक्ति दुवै भएकाले सम्भव छ । दिनमा मात्रै काम गरे पाँच वर्ष लाग्थ्यो, रातमा ढलान गरेका थियौँ, ३० महिनाअगावै अदालतलाई भवन बुझाउने तयारी छ”, उनले भने, “निर्माणका लागि आवश्यक कच्चा सामग्री भवन परिसरमा ‘रेडिमिक्स’को सहायताबाट तयार पारी प्राविधिक जाँच गरेर ढलान गरिएको छ ।”
उच्च अदालतले हाल जिल्ला अदालतको भवनबाट सेवा दिइरहेको छ । निर्माणाधीन सो भवनमा छ वटा अत्याधुनिक इजलास कक्ष रहनेछन् । अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनसँगै अथिति गृह, न्यायाधीस, रजिष्ट्रार र कर्मचारी आवाससमेत गरी तीन ब्लकमा निर्माण गरिएको छ ।
सात रोपनी जग्गामा निर्माण भइरहेको उक्त भवन प्रविधिमैत्री, अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधीका साथै साविक धौलागिरि अञ्चलका चार जिल्लामध्ये सबैभन्दा ठूलो र आधुनिक हुने सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्